बैतडी –यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज भाइटीका, दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी मनाउने गरिन्छ ।
हरेक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने भाइटीका तिहारको मुख्य दिन हो । आज दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु, आरोग्य र समृद्धिको कामना गर्दै परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका लगाइदिने चलन छ ।
यसलाई यमद्वितीया पनि भनिन्छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिने परम्परा छ । दिदीबहिनीको पूजा गर्नाले सौभाग्य र ऐश्वर्य प्राप्त हुने धार्मिक मान्यता रहेको छ ।
भाइटीका आज दिनभर लगाउन सकिने भए पनि साइत खोज्नेका लागि बिहान ११ बजेर ७ मिनेट उत्तम समय रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने समितिका अध्यक्ष सहप्रा.डा पुरुषोत्तम भट्टराईले जानकारी दिए ।
यस वर्ष भाइटीका लगाइदिने दिदीबहिनी पूर्व र लगाइमाग्ने दाजुभाइ पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ । भाइटीकाका दिन दिदीबहिनीले लक्ष्मीपूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गर्छन् ।
दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइदिने तथा मखमली, सयपत्री र गोदावरीलगायत फूलका माला पहि¥याउने चलन छ ।
तिहारमा सप्तरङ्गी टीका लगाउने प्रचलन व्यापक भए पनि शास्त्रीय मान्यताअनुसार रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच रङका टीका लगाउने व्यवस्था रहेको धर्मशास्त्रविद्हरुले बताएका छन् । टीका लगाएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला र सेलरोटीलगायत परिकार दिने गर्छन् ।
दाजुभाइले पनि दिदीबहिनीलाई आफ्नो गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिएर सम्मान प्रकट गर्ने धार्मिक तथा सामाजिक परम्परा छ ।




