कांग्रेसको देउवा समूहबाट प्रदेश महामन्त्रीमा बैतडीका केसीले गरे उम्मेदवारी घोषणा

बैतडी –नेपाली कांग्रेसको संस्थापन इतर पक्षको सुदूरपश्चिम प्रदेश महामन्त्रीमा युवा नेता कपील केसीले उम्मेदवारी घोषणा गरेका छन् । 

नेपाल विद्यार्थी संघबाट कांग्रेसको राजनीतिमा आएका केसी अहिले कांग्रेसको देउवा समूहमा महाधिवेशन प्रतिनिधि रहेका छन् । 

बैतडीको पाटन घर भएका केसीले सुदूरपश्चिमका ९ ओटै जिल्लाका युवा नेताहरुको सुझावका आधारमा महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेको दाबी गरेका छन् । 

नेपाली कांग्रेस पार्टीभित्रको एकता, जनताको अपेक्षा पूरा गर्ने प्रतिबद्धतासहित आफूले महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेको केसीले बताएका छन् । 

२०६३ सालदेखि नेविसंघमा आवद्ध हुँदै आफू लोकतन्त्र, समाजवाद र समृद्ध नेपालको पक्षमा अडिग रहेको केसीले बताए । 

केसी पाटनस्थित कृष्ण माध्यमिक विद्यालयको नेविसंघ एकाइ अध्यक्ष, बैतडी क्षेत्र नम्बर १ को क्षेत्रीय अध्यक्ष, जिल्ला उपाध्यक्ष, कार्यवाहक जिल्ला अध्यक्ष हुँदै २०७६ सालमा जिल्ला अध्यक्ष बनेका थिए ।
त्यसपछि २०७८ सालमा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि बनेका केसी २०८१ मा नेविसंघ केन्द्रीय सदस्य र २०८२ मा नेविसंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष बनेका हुन् । उनी २०८३ मा पुनः नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि बनेका छन् ।

नेपाली कांग्रेसको देउवा समूहले यही मंसिर १५ गते प्रदेश अधिवेशन गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर १३, २०८३  १७:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update