Sagun Khabar
बझाङमा पनि फोटो सहितको मतदाता नामावली संकलन हुने 

बझाङ – आगामी स्थानीय तह, प्रदेश र सङ्घीय निर्वाचनलाई लक्षित गरेर बझाङमा पनि फोटोसहितको मतदाता नामावली सङ्कलन कार्य हुने भएको छ । यही मङ्सिर १७ गतेदेखि सुरु हुने नामावली सङ्कलन दुई चरणमा सञ्चालन हुने जिल्ला निर्वाचन कार्यालयका प्रमुख भानुभक्त भट्टले जानकारी दिए । दुई चरणमा सञ्चालन हुने नामावली सङ्कलन कार्य १० दिनसम्म सञ्चालन हुने बताइएको छ ।

१२ ओटा स्थानीय तह रहेको बझाङमा पहिलो चरणमा मङ्सिर १७ देखि मंसिर २६ गतेसम्म नामावली संकलन गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लाका बुङ्गल नगरपालिका, थलारा, खप्तडछान्ना, मष्टा, साइपाल गाउँपालिका र छविसपाथीभेरा गाउँपालिकामा पहिलो चरणमा मतदाता नामावली संकलन गरिनेछ । 

स्वास्थ्य सन्देश
Atrya hospital

दोस्रो चरणमा मंसिर २९ देखि पुस ९ गतेसम्म बित्थडचिर, केदारस्यु, दुर्गाथली, सुर्मा र तलकोट गाउँपालिकामा सञ्चालन हुने निर्वाचन कार्यालयले जनाएको छ ।

नामावली सङ्कलनका लागि दर्ता कर्मचारी, दर्तास्थल व्यवस्थापक, सहायक दर्ता कर्मचारी र दर्तास्थल सहयोगी रहने व्यवस्था मिलाइएको जनाइएको छ । सम्बन्धित पालिकाको तीन र जिल्ला निर्वाचन कार्यालयबाट एकजना कर्मचारी खटाइने भएको छ । 

स्थानीय तहको केन्द्रमा हुने मतदाता नामावली सङ्कलनमा १६ वर्ष उमेर पूरा गरी नागरिकता भएकाहरूले फोटो खिचाउने र नाम दर्ता गराउन सक्नेछन् । फोटोसहितको मतदाता नामावली सङ्कलनका लागि आउँदा अनिवार्य रूपमा नेपाली नागरिकताको सक्कलै प्रमाणपत्र ल्याउनुपर्ने जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ । 

बझाङमा हालसम्म एक लाख २० हजार ९७१ जनाले भन्दा बढीले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । 
 

प्रकाशित मिति: बुधबार, मंसिर १५, २०७८  १४:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update