Sagun Khabar
अस्थायी कोरोना अस्पतालमा डाक्टर पाउनै मुस्कील !
फोटो  :बैतडी शिवनाथ गाउँपालिकाको अस्थायी कोरोना अस्पताल 

बैतडी –जिल्लाको सिगास गाउँपालिकाले अस्थायी कोरोना अस्पतालमा डाक्टरका लागि तीन पटक आवेदन आह्वान गर्यो । तर एकजना पनि चिकित्सक पाउन सकेन् । कोरोना भाईरसका संक्रमितको उपचारका लागि स्थापना भएको अस्थायी कोरोना अस्पतालमा अहिले एकजना स्टाफ नर्स कार्यरत छिन् । ‘हामीले कोरोना अस्थायी अस्पतालका लागि तीनपटक आवेदन आह्वान गर्यौं । तर डाक्टरको आवेदन नै परेन् । बल्लतल्ला दुईजना स्टाफ नर्स पाएका थियौं । अहिले एकजना मात्रै कार्यरत छन् ।’गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख घनश्याम बोहराले भने, ‘चिकित्सक पाउनै मुस्कील भएको छ । भएकै जनशक्तिबाट अस्पताल सञ्चालन गरिरहेका छौं ।’

जिल्लाको मेलौली नगरपालिकाले पनि अस्थायी कोरोना अस्पतालका लागि जनशक्ति माग गर्यो । तीन पटक जनशक्ति माग गर्दा समेत डाक्टर नपाएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण चन्दले बताए । उनले भने ‘हामीले धेरै प्रयास गर्यौं । तर डाक्टर पाएनौं ।’

स्वास्थ्य सन्देश
Atrya hospital

जिल्लाको सुर्नया गाउँपालिकाले वासुलिंग स्वास्थ्यचौकीमा अस्थायी कोरोना अस्पताल सञ्चालनमा ल्याएको छ । तर जनशक्तिको भने अभाव रहेको स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए । उनले भने ‘अस्थायी कोरोना अस्पतालका लागि खोलेको विज्ञापनमा एकजना मात्रै स्टाफ नर्स आएका छन् । अरुको आवेदन नै परेन् ।’

जिल्लाको शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र डिलाशैनी गाउँपालिकाले पनि अस्थायी कोरोना अस्पतालका लागि आवश्यक जनशक्ति पाएको छैन् । कोभीडका बिरामीहरु बढ्दै गएपनि स्थानीय तहमा सञ्चालनमा आएका अस्थायी कोरोना अस्पतालमा चिकित्सकै अभाव रहेको छ । यसले गर्दा उनीहरुको उपचारमा समेत समस्या भईरहेको छ । 

संघीय सरकारले गत माघमै स्थानीय तहहरुमा अस्थायी कोरोना अस्पताल सञ्चालनका लागि बजेट पठाएपनि पुर्चौंडी नगरपालिका, पाटन नगरपालिका र दोगडाकेदार गाउँपालिका बाहेकका स्थानीय तहहरुले मेडिकल अधिकृत पाउन सकेका छैनन् । अस्थायी कोरोना अस्पतालमा भने अनुसारको जनशक्ति नहुँदा समस्या भईरहेको तहहरुले जनाएका छन् । 

 

प्रकाशित मिति: बुधबार, वैशाख २९, २०७८  १५:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update