
बैतडी –बैतडी कारागारबाट भागेका एकजना कैदीबन्दी अझै फरार रहेका छन् ।
जेनजी प्रदर्शनको क्रममा गएको भदौ २४ गते कारागारबाट भागेका ६१ जना फर्किसकेका छन् भने एक जना अझै फरार रहेका छन् । बैतडी कारागारको बन्दीगृहबाट भागेका सवारी ज्यान मुद्दाका प्रेमबहादुर तामाङ असोज २० गते उदयपुर कारागारको सम्पर्कमा आएका कारागार कार्यालय बैतडीकी प्रमुख धारा भण्डारीले बताइन् ।
जेनजी प्रदर्शनका क्रममा भागेका कैदीबन्दीमध्ये जबरजस्तीकरणी मुद्दाका एकजना अझै सम्पर्कमा नआएका उनले बताइन् । पाटन नगरपालिका–६ घर भएका राजेश लुहार सम्पर्कमा नरहेका भण्डारीले बताइन् । उनको प्रहरीमार्फत खोजीकार्य जारी रहेको छ ।
कारागारको बन्दीगृहबाट ५४ जना कैदीबन्दी र ८ जना थुनुवा भागेका थिए । ती मध्ये ५३ जना कैदीबन्दी र ८ जना थुनुवा कारागार फर्किसकेका कारागार कार्यालयकी प्रमुख भण्डारीले बताइन् ।
फरार रहेका राजेश लुहारको हुलियासहित सबै ठाउँमा जानकारी पठाइसकेको र उनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए ।
फरार रहेका कैदीबन्दीमध्ये चार जनालाई भारतको पिथौरागढबाट पक्राउ गरिएको थियो । धेरैजसो भने आँफै सम्पर्कमा आएका कारागार कार्यालयकी प्रमुख भण्डारीले बताइन् ।
बाहिर जिल्लाका कारागारबाट भागेर आएका चार जना कैदीबन्दी बैतडी कारागारमा सम्पर्कमा आएका थिए । चार जनामध्ये एक जना काठमाण्डौं, एक जना दार्चुला, एक कञ्चनपुर र एक जना मकवानपुर जिल्ला कारागारबाट भागेर आएका थिए ।
उनीहरुमध्ये मकवानपुर र दार्चुलाबाट भागेर आएका कैदीबन्दीलाई दार्चुला कारागार पठाइएको छ भने कञ्चनपुरबाट भागेर आएका कैदीबन्दीलाई कञ्चनपुर पठाइएको भण्डारीले बताइन् ।
कारगार कार्यालय जगन्नाथ देवल काठमाण्डौंबाट भागेर आएका कैदीबन्दीलाई पनि बैतडी कारागारमै राखिएको प्रमुख भण्डारीले बताइन् ।
कारागार कार्यालय बैतडीको बन्दीगृहमा २५ जना कैदीबन्दी बस्ने क्षमता रहेको भएपनि अहिले ६२ जना रहेका छन् ।