Sagun Khabar
दार्चुलामा हिउँदेबाली सुक्दै 

दार्चुला – हिउँदे वर्षा नभएपछि दार्चुलामा यो वर्ष हिउँदेबाली सुक्न थालेको छ । हिउँदे बाली लगाउने समयदेखिनै  परेको खडेरीका कारण लगाइएकोे बालीसमेत सुक्न थालेको हो । बाली सुक्न थालेपछि हिउँदेबालीको उत्पादनमा समेत कमी आउने अनुमान गरिएको छ ।

लामो समयसम्म परेको खडेरीका कारण जिल्लामै गहुँ, जौ, उवा, केराउ, मसुरोलगायत बालीको उत्पादनमा निक्कै कमी हुने देखिएको छ । यसवर्ष खडेरीका कारण अधिकांश क्षेत्रमा लगाएको हिउँदेबाली सुकेर नष्ट भएपछि वर्षभरि कसरी परिवार पाल्ने हो भन्ने चिन्ताले सताउन थालेको मालिकार्जुन गाउँपालिका–३ का किसान कासीसिंह धामीले बताए । 

जिल्लाका धेरै जसो ठाउँमा सिँचाइ सुविधा नहुँदा हिउँदेबाली सुक्न थालेको हो । जिल्लामा पाँच हजार नौ सय ६५ हेक्टर जमिनमा गहुँखेती गरिँदै आएकामा ३२ दशमलव सात प्रतिशत जमिनमा मात्रै मात्रै सिँचाइको सुविधा छ । सिँचाइको सुविधा नभएका कतिपय ठाउँमा किसानहरुले गहुँ छर्न समेत पाएका छन् । गहुँ छरेका ठाउँमा समेत बाली सुक्न थालेको किसानहरुको भनाइ रहेको छ । 

Atrya hospital

सिँचाइ सुविधाको अभावमा हरेक हिउँदमा उत्पादनमा असर पर्न थालेको किसानहरुले बताएका छन् । हिउँदमा पानी नपर्दा निकै समस्या हुने गरेको स्थानीय गंगासागर जोशीले बताए । 

खेतीपातीकै भरमा जीविकोपार्जन गरिरहेका जिल्लाका अधिकांश ठाउँका किसान उत्पादनमा कमी आउने देखिएपछि चिन्तित भएका छन् । वर्षे बालीमासमेत वन्यजन्तुले क्षति गरेका कारण खासै उत्पादन नभएको र हिउँदेबाली खडेरीले सुक्न थालेपछि चिन्तित भएका दार्चुलाका किसानले सिँचाइको लागि स्थानीय सरकाले उपयुक्त व्यवस्था गर्न नसकेको गुनासो गरे ।

गएको वर्ष दार्चुलामा १४ हजार एक सय तीन मेक्ट्रिकटन गहुँ उत्पादन भएकामा यो वर्ष भने समयमै पानी नपरेपछि गहुँ उत्पादनमा कमी आउने अनुमान गरिएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, पुस १, २०७९  १४:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update