Sagun Khabar
सिगासमा निजीश्रोतका शिक्षकको आन्दोलन जारी 

बैतडीको सिगास गाउँपालिकाले स्वयंसेवक शिक्षकहरुको व्यवस्थापन विद्यालय व्यवस्थापन समितिले गर्ने भनेपछि निजीश्रोतका शिक्षकहरु थप आन्दोलित भएका छन् । गाउँकार्यपालिकाले बजेटको अभावमा स्वयंसेवक शिक्षकहरुलाई तलब भत्ता खुवाउन नसक्ने भन्दै व्यवस्थापन समितिको जिम्मा लगाउने निर्णय गरेको थियो । गाउँपालिकाको निर्णय विरुद्ध आफूहरु आन्दोलनमा उत्रेको स्वयंसेवक शिक्षक संघर्ष समितिका अध्यक्ष लक्ष्मी शाह चन्दले जानकारी दिइन् ।

गाउँपालिकाले गरेको निर्णयका बिषयमा प्रत्येक वडामा जनप्रतिनिधि र विद्यालय व्यवस्थापन समितिसंग बसेर छलफल गरिरहेको उनले बताइन् ।  आफूहरुले गएको साउन महिनादेखिको तलब अहिले सम्म नपाएको र तलब नदिइ आफूहरुलाई समस्यामा पारेको उनले बताइन् ।

स्वास्थ्य सन्देश
Atrya hospital

गाउँपालिकाले तलब भुक्तानी नगर्दा सम्म आइतबारदेखि विद्यालय नजाने र बार्षिक परीक्षा समेत सञ्चालन गर्न नदिने संघर्ष समितिले जनाएको छ । आफूहरुले काम गरेको तलब माग्दा गाउँपालिकाले हटाउन खोजेको निजीश्रोतका शिक्षकहरुले बताएका छन् । सिगास गाउँपालिकाका ५९ सामुदायिक विद्यालयमा १८७ जना निजीश्रोतका शिक्षक कार्यरत रहेका छन् ।

गाउँपालिकाले भने केन्द्रबाट आउने राजश्व बाँडफाँडको बजेट नआएकाले शिक्षकहरुलाई तलब खुवाउन नसकेको जनाएको छ । गाउँपालिकाले कार्यपालिकाको निर्णय कार्यान्वयन गराउन समेत सबै विद्यालयमा पत्राचार गरिसकेको छ । निजीश्रोतका शिक्षकहरुले आफूहरुका माग पूरा नहुँदा सम्म आन्दोलन गर्ने जनाएका छन् । 
 

प्रकाशित मिति: आइतबार, चैत २९, २०७७  १०:११
प्रतिक्रिया दिनुहोस्
Weather Update