Sagun Khabar
बाढी आउनु पूर्व समुदायमा एसएमएस
फोटो : महाकालीमा बाढी आएपछि तल्लो तटीय क्षेत्रका नागरिकलाई एसएमएस पठाउँदै पञ्चेश्वरका कमला चन्द

बैतडी – जिल्लाको दशरथचन्द नगरपालिका १० तिरखडेनीकी जयन्ती चन्द आकाशमा बादल लाग्ने बित्तिकै मोबाइलबाट एसएमएस गर्न थाल्छिन् । तटीय क्षेत्रका बासिन्दाहरुलाई महाकालीको बाढीबाट बचाउन उनले बाढी आउँदै गरेको सूचना एसएमएस मार्फत दिने गरेकी हुन् । बर्षातको समयमा महाकाली बाढी आउँदा नदी किनारका बासिन्दाहरुलाई सजग रहन उनले एसएमएस मार्फत खबर गर्ने गरेकी हुन् । 

जिल्लाको दशरथचन्द नगरपालिका ६ सेराकी लक्ष्मी कार्कीले पनि सेराभन्दा तलतिरका बस्तीका मान्छेहरुलाई महाकालीमा बाढी आएको कुरा फोन अथवा एसएमएस मार्फत खबर पुर्याउने गरेकी छिन् । सेराबाट उनले तिरखडेनीका मान्छेहरुलाई खबर गर्छिन् भने तिरखडेनीका मान्छेहरुले पञ्चेश्वर मान्छेहरुलाई बाढीको बारेमा पूर्व जानकारी दिने गरेका छन् । 

बैतडीमा महाकाली नदीको तटीय क्षेत्रका बासिन्दा हिजोआज बाढीबाट हुने क्षति न्यूनीकरणका लागि पूर्वसूचना प्रणाली स्थापना गरेर सचेत हुन थालेका हुन् । 

स्वास्थ्य सन्देश
Atrya hospital

तटीय क्षेत्रमा महिला सशक्तीकरण केन्द्र गठन गरेर उनीहरुले समूहमा बाढीबाट हुन सक्ने क्षति, बाढी आउनु पूर्व गर्नुपर्ने तयारी लगायतका बिषयमा छलफल समेत गर्ने गरेका छन् । ‘हामीले सशक्तीकरण केन्द्रमा तटीय क्षेत्रमा हुन सक्ने विपद् र ती विपद्बाट बच्ने उपायका बिषयमा छलफल गर्छौं । बर्षातको समयमा महाकालीमा बहाव बढ्ने बित्तिकै आफूभन्दा तलतिर रहेका समुदायलाई फोन अथवा एसएमएस मार्फत खबर गर्ने गरेका छौं ।’तिरखडेनीकी जयन्ती चन्दले भनिन् ‘यसले तटीय क्षेत्रका मानिसहरुलाई सजग हुन सजिलो भएको छ । नदी किनारमा भएका मानिसहरु पनि समयमै आफ्नो घरमा पुग्ने गरेका छन् ।’

महाकाली नदीमा पानीको बहाव बढ्ने बित्तिकै दार्चुलाका नागरिकले बैतडीका तटीय क्षेत्रका नागरिकलाई खबर गर्छन् भने बैतडीका नागरिकले डडेल्धुराका तटीय क्षेत्रका नागरिकलाई खबर गर्ने गरेका छन् । डडेल्धुराका नागरिकले कञ्चनपुरका नागरिकलाई खबर गर्ने गरेका छन् । 

तटीय क्षेत्रका बासिन्दाहरुका सवालमा पैरवी गर्नका लागि सञ्चालनमा रहेको ट्रोसा परियोजनाले तटीय क्षेत्रमा सशक्तीकरण केन्द्र गठन गरेर विपद्बाट जोगिन पूर्व सूचना प्रणालीको पनि विकास गरेको रुडेस बैतडीका कार्यकारी निर्देशक गोविन्दराज जोशीले जानकारी दिए । उनले भने ‘हामीले ट्रोसा परियोजना अन्तर्गत तटीय क्षेत्रका महिलाहरु सहभागी भएको सशक्तीकरण केन्द्र बनाएका छौं । ती केन्द्रहरुमा विपद्बाट हुन सक्ने क्षति न्यूनीकरणका बिषयमा छलफल हुने गरेको छ ।’

सशक्तीकरण केन्द्रमा हुने छलफलले तटीय क्षेत्रका नागरिकलाई बाढीबाट हुने सक्ने विपद्को क्षति न्यूनीकरणमा सहयोग पुगेको दशरथचन्द नगरपालिका १० की पशुपति बुडालले बताइन् । उनले भनिन् ‘दार्चुलामा बर्षा हुने बित्तिकै हामीलाई यता खबर पुगिहाल्छ । हामीलाई खबर हुने बित्तिकै हामी पञ्चेश्वरमा खबर पुर्याउने गर्दछौं ।यसले तटीय क्षेत्रका मानिसलाई ठूलो सहयोग पुर्याउँछ ।’

महाकाली नदी किनारमा विभिन्न कामले पुगेकाहरु समयमै घर पुग्ने भएकाले सूचना प्रणालीले सहयोग गरेको दशरथचन्द नगरपालिका ६ सेराकी धाना जोशीले बताइन् । उनले भनिन् ‘महाकालीमा कतिखेर बाढी आउँछ, हामीलाई थाहा हुँदैन् । तर खबर आएपछि हामी सतर्क हुने गर्दछौं । हामी भन्दा तलका बस्तीहरुलाई पनि खबर गर्ने गरेका छौं ।’

 

प्रकाशित मिति: बिहीबार, असार ३, २०७८  १३:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update