Sagun Khabar
विद्युत सेवा अनियमित हुँदा सेवाग्राही मारमा 
फोटो : नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्र 

जिल्लाको दशरथचन्द नगरपालिका १ का नारायण भट्टलाई विद्युत अनियमित हुँदा निकै समस्या हुने गरेको छ । ग्रिल उद्योग सञ्चालन गरेका उनलाई विद्युत सेवा अनियमित हुँदा काम गर्न सकिएको छैन् । बेलाबेलामा विद्युत आउने र जाने हुनाले अर्डरको काम समेत समयमा गर्न पाइएको छैन् । उनले भने ‘विद्युत अनियमित हुँदा म जस्ता व्यापारीहरुलाई धेरै समस्या भएको छ । कतिखेर बत्ती जान्छ थाहा नै हुँदैन् । बत्ती अनियमित हुँदा कामकाजमा निकै समस्या भएको छ ।’

जिल्लाको दशरथचन्द नगरपालिका २ का धनसिंह भण्डारीले मिल सञ्चालन गरेका छन् । अनियमित विद्युतका कारण उनलाई पनि मिल सञ्चालन गर्न निकै गाह्रो छ । पिसानीका लागि पुगेका ग्राहकहरुलाई समयमै सेवा दिन मुस्किल भएको छ । ‘ग्राहकहरु आउँछन् तर विद्युत सेवा अनियमित हुँदा सेवाग्राहीलाई सेवा दिन सकिएको छैन् । बत्ती आउने जाने हुन्छ ।’उनले भने ‘विद्युत सेवा अनियमित हुँदा हामीलाई धेरै समस्या भएको छ ।’

स्वास्थ्य सन्देश
Atrya hospital

पछिल्लो समयमा बैतडीमा विद्युत सेवा अनियमित हुँदा समस्यामा परेका यी दुई प्रतिनिधि उदाहरण मात्रै हुन् । मिल सञ्चालक, सञ्चार माध्यम र सरकारी कार्यालयहरुमा पनि विद्युत सेवा अनियमित हुँदा समस्या भएको गुनासो बढेको छ । जिल्लाका सबै जसो क्षेत्रमा विद्युत सेवा अनियमित भईरहेको स्थानीयबासीहरुले बताएका छन् । 

तर विद्युत प्राधिकरणले भने हावाहुरीका कारण लाइनमा समस्या आउँदा विद्युत प्रशारणमा अवरोध हुने गरेको बताएको छ । लामो लाइन भएका कारण हावाहुरीले तार र पोलमा क्षति पुर्याउँदा विद्युत अनियमित हुने गरेको नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका सुपरभाइजर माधवप्रसाद लेखकले जानकारी दिए । उनले भने ‘लामो लाइन भएका कारण हावाहुरीले तार चुडिने,पोल्ने ढल्ने भईरहेको छ । यसले गर्दा विद्युत सेवा अनियमित भईरहेको छ ।हामीले सकेसम्म विद्युत सेवा नियमित गर्ने प्रयास गरिरहेका छौं ।’

जिल्लाभरीको लाइन एकै ठाउँबाट भएकाले एक ठाउँमा बिग्रिँदा अन्य ठाउँमा पनि समस्या हुने गरेको लेखकले बताए । हावाहुरीकै कारण विद्युतका संरचना क्षति पुग्ने र त्यसले विद्युत सेवा अनियमित हुने गरेको उनले प्रष्ट पारे । बैतडीमा १४ हजार बढी घरधुरीमा विद्युत सेवा सञ्चालनमा छ ।  

 

प्रकाशित मिति: सोमबार, चैत ३०, २०७७  ०६:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update