Sagun Khabar
बङ्लादेशमा  शरणार्थी शिविरमा  आगलागी हुँदा १२ हजारभन्दा धेरै मानिस घरबारविहीन

बङ्लादेशमा रहेको रोहिङ्ग्या शरणार्थी शिविरमा भीषण आगलागी हुँदा १२ हजारभन्दा धेरै मानिस घरबारविहीन बनेका छन् । हिजो भएको आगलागीमा मानिसहरुले भागेर ज्यान बचाउन सफल भए पनि घर र घरभित्र रहेका सामग्री जलेर नष्ट भएका बीबीसीले जनाएको छ ।

बङ्लादेशका शरणार्थी आयुक्त मिजानुर रहमानले शरणार्थीका लागि बनाइएका झण्डै दुई हजार घर जल्दा १२ हजारभन्दा धेरै मानिस घरबारविहीन बनेका बताए । आगलागीमा ३५ वटा मस्जिद र २१ वटा लर्निङ सेन्टर पनि जलेर खरानी भएका  रहमानले बताए  ।

स्वास्थ्य सन्देश
Atrya hospital

हिजो दिउँसो चार बजेतिर सुरु भएको आगो झण्डै तीन घण्टापछि निभाइएको बङ्लादेशको प्रहरीले जनाएको छ । आगलागीको कारण खुलेको छैन । अहिले शिविरमा पानी लगायतका आधारभूत वस्तुहरुको आपूर्ति समेत जोखिममा रहेको छ ।

बङ्लादेशका रोहिङ्ग्या शिविरमा बारम्बार आगलागीका घटना हुने गरेका छन् । यसअघि सन् २०२१ र सन् २०२२ मा गरी आगलागीका दुई सय २२ वटा घटना भएका थिए । सन् २०२१ को मार्चमा एउटा बस्तीमा आगलागी हुँदा १५ जनाको ज्यान जानुको साथै झण्डै ५० हजार जना विस्थापित भएका थिए ।

शिविरमा म्यानमारमा भएको रोहिङ्ग्या जातीय अल्पसङ्ख्यकहरू विरुद्ध सैन्य कारबाहीपछि भागेका मानिसहरूलाई राखिएको छ । 

#उज्यालो 

प्रकाशित मिति: सोमबार, फागुन २२, २०७९  १२:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update