बैतडी– महाकाली भन्सार कार्यालय झुलाघाट कार्यालय सहयोगीहरुको भरमा सञ्चालनमा रहेको छ । भारतीय सीमासंग जोडिएको भन्सार कार्यालय सहयोगीहरुको भरमा सञ्चालनमा रहेको हो । कार्यालय प्रमुख बढीजसो जिल्ला बाहिर रहने हुँदा दुई जना कार्यालय सहयोगी मात्रै कार्यालयमा भेटिने गरेका छन् ।
भन्सार कार्यालय प्रमुख अनिल कुमार झा कार्यालय सहयोगीको भरमा कार्यालय छोडेर अन्यत्र जाने गरेको खुलेको छ । भन्सार कार्यालय झुलाघाटमा करारका कार्यालय सहयोगी पुरन रावल र जनक पन्त मात्रै रहेका छन् । दुवै जनाले अहिले भन्सार कार्यालय हाँकी रहेका हुन् । कार्यालय प्रमुख र अन्य कर्मचारी नभएकोले आफूहरुले सबै काम गर्ने गरेको कार्यालय सहयोगी रावलले बताए ।
कार्यालय प्रमुखको काम परिरहने र लेखापाल समय समयमा परिवर्तन हुने भएकाले आफहुरुले नै कार्यालय सम्हाल्ने गरेको उनको भनाई छ । भन्सार कार्यालय जस्तो महत्वपूर्ण अड्डामा कार्यालय सहयोगीको भरमा हुँदा समेत सरोकारवाला निकायहरुले ध्यान दिएका छैनन् । भन्सारबाट आयात तथा निर्यात हुने वस्तुबाट राजस्व संकलन गर्ने निकायमा कर्मचारी नहुँदा राजस्व चुहावट हुन सक्ने देखिएको छ ।
यसले राज्यलाई समेत क्षति पुगिरहेको स्थानीय व्यापारीहरुले बताएका छन् । कार्यालय प्रमुखले कार्यालय सहयोगीको भरमा भन्सार कार्यालय छाडेर अन्यत्र जान गैर जिम्मेवारपुर्ण काम भएको नागकिहरुको भनाई छ । ‘हाकिम साब त हामी कार्यालयमा देख्दैनौँ, कार्यालय सहयोगीहरु नै हुन्छन बढी जसो,’भन्सार कार्यालयमा यो लापरबाही हो, एक जनाले नाम नबताउने सर्तमा भने । महत्वपूर्ण कार्यालय नै कार्यालय सहयोगीको भरमा छोडनु गलत भएको यहाँका नागरिकहरुको भनाई छ ।
कार्यालय सहयोगीहरुले नै भारतीय बजारबाट आउने सामानको जाँचपास गरेर राजस्व संकलन गर्ने गरेका छन् । महाकाली भन्सार कार्यालयमा दरबन्दीका कर्मचारी नहुनु र कार्यालय प्रमुख समेत बाहिर हुँदा राजस्व चुहावट हुने देखिएको छ ।
महाकाली भन्सार कार्यालयमा स्थानीय प्रशासनले समेत बेवास्ता गरेको देखिन्छ । भन्सार कार्यालयमा देखिएका समस्या बारे बुझ्नका लागि कार्यालय प्रमुख झालाई फोन गरे पनि रिसिभ भएन् । धेरै पटक उनलाई फोन लगाउँदा पनि रिसिभ हुन नसकेको हो ।





