Sagun Khabar
बैतडीका तीन नगरपालिका निमित्तको भरमा 

बैतडी –बैतडीका चारओटा नगरपालिकामध्ये तीनओटा नगरपालिका निमित्तको भरमा सञ्चालन भइरहेका छन् । नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरुको सरुवा भएपछि अहिले नगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतहरुले काम चलाईरहेका हुन् । 

जिल्लाको दशरथचन्द नगरपालिका, पाटन नगरपालिका र मेलौली नगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतहरुले काम चलाइरहेका हुन् । मेलौली नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत सपना कार्कीलाई गएको असार मसान्त सम्मका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक अधिकार दिएको थियो । त्यसपछि मेलौलीमा पनि कार्कीलाई आर्थिक अधिकार दिएको छैन् । 

स्वास्थ्य सन्देश
Atrya hospital

मन्त्रालयले उपसचिव चोमेन्द्र न्यौपानेलाई मेलौलीको प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाएको भएपनि अहिले सम्म उनी हाजिर भएका छैनन् । नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृतलाई आर्थिक अधिकार नहुँदा विभिन्न कामकाजमा समस्या भएको नगरपालिकाले जनाएको छ । 

यस्तै दशरथचन्द नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर भुजेल र पाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माको सरुवा भएपछि दुवै नगरपालिका निमित्तको भरमा सञ्चालन भइरहेका छन् । 

दशरथचन्द नगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी राजेन्द्रसिंह थापाले पाएका छन् भने पाटन नगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी राजेन्द्रप्रसाद भट्टले पाएका छन् । 

नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा दैनिक रुपमा सम्पादन गर्नुपर्ने कामकाजमा समेत समस्या आउने गरेको पाटन नगरपालिकाका उपप्रमुख कमलसिंह बोहराले बताए । मन्त्रालयले वैकल्पिक व्यवस्था नगरिकनै हाकिमहरुको सरुवा गर्दा समस्या हुने गरेको उनले बताए । 

स्थानीय तहमा दोश्रो कार्यकालका लागि जनप्रतिनिधि निर्वाचित भइसक्दा समेत कर्मचारीकै अभाव रहेको छ । दुर्गमका पालिकाहरुमा जहिले पनि कर्मचारीकै अभाव हुने गरेको जनप्रतिनिधिहरुले बताएका छन् । 
 

प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  ०९:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update