Sagun Khabar
बैतडीमा अवैध क्लिनिक र औषधि पसल धमाधम सिल गरिँदै

बैतडी–बैतडीमा अवैध रुपमा सञ्चालित औषधि पसल तथा क्लिनिकहरु धमाधम सिल गर्न थालिएको छ । जिल्ला प्रशासन कार्यालय र स्वास्थ्य कार्यालयको संयुक्त अनुगमन टोलीले अवैध क्लिनिक र औषधि पसल सिल गरेको हो । 

चालु आर्थिक बर्षको अहिले सम्म १४ ओटा औषधि पसल र दन्त क्लिनिक अनुगमन गरेकोमा ६ ओटा औषधि पसल र २ ओटा दन्त क्लिनिक सिल गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । 

स्वास्थ्य सन्देश
Atrya hospital

अनुगमनका क्रममा जिल्लाको दोगडाकेदार गाउँपालिकामा ३ ओटा मेडिकल सिल गरिएका छन् भने पञ्चेश्वर, सिगास र पाटनमा एक÷एक ओटा मेडिकल सिल गरिएका छन् । सिल गरिएका औषधि पसलमध्ये प्रक्रिया पुर्याएका दोगडाकेदारका दुईओटा औषधि पसल फेरि सञ्चालनमा आएका स्वास्थ्य प्रमुख भट्टले बताए । 

यस्तै पाटन नगरपालिका क्षेत्रभित्र सञ्चालित दुईओटा दन्त क्लिनिक समेत सिल गरिएका बताइएको छ । सम्बन्धित सरकारी निकायमा दर्ता नभएका र प्रक्रिया पूरा नगरेका औषधि पसल र दन्त क्लिनिक सिल गरिएका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए । 

जनस्वास्थ्य ऐन २०७५, औषधि ऐन २०३५ र मुलकी अपराध संहिता २०७४ अनुसार सञ्चालन नभएका औषधि पसल र क्लिनिक सिल गरिएका हुन् । 

औषधि पसल सञ्चालन गर्नका लागि औषधि व्यवस्था विभाग र दन्त क्लिनिक सञ्चालन गर्नका लागि स्वास्थ्य कार्यालयबाट अनुमति लिनुपर्ने प्रावधान रही आएको छ । औषधि पसल सञ्चालनका लागि कम्तीमा फार्मेसीमा प्रवीणता प्रमाण तह अध्ययन गरेको हुनुपर्ने स्वास्थ्य प्रमुख भट्टले बताए । 

बैतडीमा कानुन विपरीत औषधि पसल सञ्चालन गरिरहेका तीनजनामाथि मुलुकी अपराध संहिता ऐन (२०७४)को इलाज सम्बन्धि कसुरमा मुद्दा दर्ता समेत भएको छ । जनस्वास्थ्यमाथि खेलवाड गर्ने तरीकाले मेडिकल सञ्चालन गरिरहेकाहरुमाथि मुद्दा दर्ता गरेर अनुसन्धान गरेको प्रहरीले जनाएको छ । 

दुईजनामाथि अनुसन्धान सकाएर अदालतमा पेश गरिएको थियो भने एकजनामाथि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । कानुन विपरीत सञ्चालनमा रहेका सबै औषधि पसल तथा क्लिनिकहरु बन्द गरिने स्वास्थ्य प्रमुख भट्टले बताए ।  
 

प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  ०९:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update