Sagun Khabar
मुगुको गमगढी बजारमा आगलागी, सात वटा घर जलेर नष्ट

काठमाण्डौ – मुगुको जिल्ला सदरमुकाम गमगढीमा गएराति आगलागी हुँदा एउटा टहरोसहित सात वटा घर जलेर नष्ट भएका छन् ।

गएराति साढे १ बजेतिर शुरु भएको आगो बिहान चार बजे निभाइएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्र थापाले जानकारी दिए ।

स्वास्थ्य सन्देश
Atrya hospital

आगलागीबाट ६ वटा घर र एउटा टहरो जलेको र एउटा घरमा दाजुभाइको परिवार छुटाछुटै बस्दै आएकाले आठ परिवारको घर जलेर नष्ट भएको डीएसपी थापाले बताए ।

आगलागीबाट मानवीय क्षति नभएको तर नौ वटा विभिन्न पसलसहित ग्यासलगायतको गोदाममा क्षति पुगेको उनले बताए । क्षतिको विवरण सङ्कलन गर्ने काम भइरहेको छ ।

आगलागीको कारण थाहा भएको छैन । गएको असोजमा पनि गमगढीको तल्लो बजारमा आगलागी हुँदा २१ घर जलेर नष्ट भएका थिए । गमगढीमा पटक–पटक आगलागी हुँदै आएको छ ।
 

प्रकाशित मिति: शनिबार, असोज ६, २०८०  ०९:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update