
बैतडी –बैतडीको पाटन नगरपालिका–३ स्थित सिगास मावि गौरीशंकर पोखरीमा क्याम्पस स्थापनाको पहल तीव्र पारिएकोे छ । सुदूरपश्चिम विश्वविद्यालयको सम्बन्धन प्राप्त क्याम्पसको रुपमा सिगास बहुमुखी क्याम्पस स्थापनाको पहल भइरहेको हो ।
सुदूरपश्चिम विश्वविद्यालयबाट सम्बन्धन प्राप्तिका लागि निवेदन दिइसकेको र अन्य तयारीहरु भइरहेको क्याम्पस सञ्चालन तदर्थ समितिका संयोजक प्रेमसिंह भाटले जानकारी दिए ।
विश्व विद्यालयले आह्वान गरेको सूचनाको आधारमा निवेदन पेश गरिसकेको र क्याम्पस स्थापनाका लागि धरौटी, फर्निचर लगायत आवश्यक पुर्वाधार निर्माणका लागि आर्थिक संकलन अभियान जारी रहेको संयोजक भाटले बताए ।
क्याम्पस सञ्चालनका लागि अहिले गौरीशंकर माविकै भवनभित्र कक्षाकोठा र कार्यालयको व्यवस्थापनको गरिएको छ ।
क्याम्पस स्थापनाका लागि अहिले सम्म ६१ लाख २८ हजार ७६५ रुपैंया संकलन भइसकेको छ । क्याम्पसको सेवा क्षेत्रभित्र रहेका १९ ओटा विद्यालय तथा अन्य संघसंस्थाहरुमा पुगेर चन्दा संकलन गरिएको जनाइएको छ । अधिकांश शिक्षकहरुले क्याम्पस स्थापनाका लागि सहयोग गरेको संयोजक भाटले बताए ।
सिगास बहुमुखी क्याम्पसमा स्नातक तहमा शिक्षा र वाणिज्य संकायमा पठनपाठन गर्ने तयारी भइरहेको उनले बताए । घर नजिकैको विद्यालयबाटै उच्च शिक्षा हासिल गर्न सहज होस भनेर क्याम्पस स्थापनाको पहल भइरहेको हो ।
विश्वविद्यालयले क्याम्पसको अनुगमन गरेपछि सम्बन्धन प्रदान गर्ने बताइएको छ । विश्वविद्यालयको सम्बन्धनपछि चालु शैक्षिक सत्रबाटै पठनपाठनको तयारी भएको भाटले बताए ।
यस्तै जिल्लाको केदारनागार्जुन मावि बगलेखान, केदारेश्वर मावि दुर्गास्थान र शिक्षा केन्द्र अमर मावि डिलाशैनीमा पनि क्याम्पस स्थापनाका लागि पहल भइरहेको छ । समुदायस्तरबाट सञ्चालनमा रहेका कतिपय क्याम्पस विद्यार्थीको अभाव र अन्य कारणले बन्द भइरहेकाले बेला नयाँ क्याम्पस स्थापनका लागि पहल भइरहेको हो ।
नयाँ सञ्चालन हुने क्याम्पसहरुलाई दिगो रुपमा सञ्चालन गर्ने रणनीतिसहित स्थापना गर्नुपर्ने शिक्षा क्षेत्रका जानकारहरुले बताएका छन् ।