Sagun Khabar
दशैँको दोस्रो दिन, आज ब्रह्मचारिणी देवीको पूजाअर्चना गरिँदै

बैतडी –बडादशैँको दोस्रो दिन आज नवदुर्गामध्येकी ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदैछ ।  नवरात्रमा प्रत्येक दिन भगवती दुर्गाका एक–एक स्वरूपको आराधना गर्ने परम्परा रही आएको छ । 

तपस्यामा लीन भइरहने भएकाले दुर्गाको दोस्रो रूपलाई ब्रह्मचारिणी भनिएको हो । यिनी शान्त र मग्न भएर तपमा लीन भइरहेकी हुन्छिन् । कठोर तपस्याका कारण यिनको मुहार तेजयुक्त भएको पुराणमा उल्लेख छ ।

स्वास्थ्य सन्देश
Atrya hospital

कमलको आसनमा बसेकी ब्रह्मचारिणीको दाहिने हातमा अक्षमाला र बायाँ हातमा कमण्डलु छ । यिनी योगसाधिकाको रूपमा पनि परिरचित छिन् । आरोग्य र शान्ति प्राप्तिका लागि यिनको आराधना गरिन्छ ।

ब्रह्मचारिणीदेवीलाई ब्रह्म विद्या शक्तिकी माताको रूपमा पूजाअर्चना गर्ने प्रचलन छ । ब्रह्मचारिणीदेवीको आराधनाले व्यक्तिलाई ब्रह्मअनुसार आचरण गर्ने शक्ति प्राप्त भइ ब्रह्मचार्य जस्तो परम पदमा पुग्न सकिने शास्त्रहरूमा उल्लेख छ ।

नवरात्रका अवसरमा विशेषगरी महाकाली, महालक्ष्मी र  महासरस्वतीको पूजा आराधना गरिन्छ । नवरात्रका समयमा जमरा राखिएका दशैँघर तथा शक्तिपीठमा पुगेर देवीको आराधना गर्ने परम्परा छ ।

नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।
बैतडीमा देवीका मन्दिर तथा अन्य मन्दिरहरुमा भक्तजनको घुइचो लागेको छ । दशैंको बेला सबै मन्दिरहरुमा पूजाआजा सहित जात्रा हुने भएकाले दर्शनार्थीहरुको घुइचो लागेको हो ।
 

प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  ०७:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update