Sagun Khabar
दशैँको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै

बैतडी – दशैँ एवम् नवरात्रको तेस्रो दिन आज दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ ।

चन्द्रघण्टा देवीको पूजा आराधनाले शक्ति प्राप्त हुने भएकाले नवरात्रका अवसरमा विशेष पूजा आराधना गर्ने गरिएको छ । चन्द्रघण्टा देवीको पूजा आराधनाका दिन मणिपुर चक्रलाई ध्यान गरिन्छ । चन्द्रघण्टा देवीको स्वरुपको ध्यान गर्दा अनेकौँ शक्ति प्राप्त हुने विश्वास गरिन्छ ।

स्वास्थ्य सन्देश
Atrya hospital

नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठ समेत गरिन्छ । वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् ।

नवरात्रका अवसरमा देशभरजस्तै बैतडीका शक्तिपीठ तथा मन्दिरहरुमा पूजा आराधना एवं दर्शन गर्ने झक्तजनहरुको भीड लाग्ने गर्दछ । 

नवरात्रका अवसरमा बैतडीका प्रसिद्ध निङ्गलाशैनी, त्रिपुरासुन्दरी, मेलौली, डिलाशैनी, कफलाशैनी, फाल्ङासैनी लगायतका भगवती मन्दिरहरुमा बिशेष पूजाआजा हुने गरेको छ । 

यस्तै सिगास, केदार, शिवनाथ, जगन्नाथ, महारुद्र, अनिरुद्र, उदयदेव, वासुलिङ्ग लगायतका मन्दिरहरुमा पनि पूजाआजा गर्ने गरिएको छ । 

नवरात्रको समयमा शिव र शक्ति दुवैको पूजाआजा गर्ने चलन रही आएको स्थानीय संस्कृतिका जानकार आचार्य घनश्याम लेखकले बताए । 
 

प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  ०७:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update