Sagun Khabar
नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजाआराधना गरिँदै 

बैतडी –बडादशैँ अन्तर्गत नवरात्रको आज चौँथो दिन कुष्माण्डा भगवतीको विशेष पूजा गरिँदैछ । भगवती दुर्गाको कुष्माण्डा शक्तिबाट नै ब्रह्माण्डको उत्पत्ति भएको धार्मिक विश्वास छ । सूर्य मण्डलमा निवास रहेको र सेतो कुभिण्डोको जस्तो रुप भएका कारण भगवतीलाई कुष्माण्डा भनिएको हो । कुष्माण्डा भगवतीका लागि कुभिण्डोको बलि अति प्रिय मानिएको छ ।

दशैंको चौथो दिन कुष्माण्डा भगवतीको पूजाले मनुष्यले आयु, यश, बल, आरोग्यता प्राप्त गर्ने मान्यता छ । चतुर्थ शक्तिको पूजाले वायु तत्वको सन्तुलन शरीरमा ठीक हुने शास्त्रीय वचन छ । पूजापछि माल पूवाको प्रसाद चढाउने र बाँडेर खानाले बुद्धिको विकास हुने धार्मिक अध्येताहरू बताउँछन् ।

कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ । आफ्नो उदरमा त्रिविध ताप धारण गरी संसारको सृष्टि गर्न कुष्माण्डा देवीको आविर्भाव भएको ग्रन्थहरुमा उल्लेख गरिएको छ । उष्णता तथा शीतलातालाई सम तुल्याई सिर्जना गर्ने शक्ति कुष्माण्डा देवीमा रहेको बताइएको छ ।

स्वास्थ्य सन्देश
Atrya hospital

यी देवी उष्ण रक्तसमूह मानव, चराचरुङ्गी तथा शीतरक्त समूह माछा,सर्प लगाएतका सारा प्राणीको सिर्जना शक्ति भएकी माता भनेर शास्त्रहरुमा उल्लेख गरेको पाइन्छ । कुष्माण्डाको लौकिक अर्थ कुभिण्डो हो । उष्ण हावापानीको प्रकृतिमा हुर्किने तर भित्री गुण शीतप्रद हुने फल कुभिण्डोलाई कुष्माण्डा देवीको प्रतीक मानेर दशैंमा यसको पूजाआजा गर्ने चलन छ ।

शक्तिपीठ तथा देवी मन्दिरहरुमा कुभिण्डाको विधिपूर्वक पूजा गरी बलि समेत चढाउने गरिन्छ । दशैंका नवौं दिन सम्म दुर्गा भवानीको ९ ओटा स्वरुपको पूजाआजा गर्ने गरिएको छ । 

पहिलो दिन शैलपुत्रीको पूजा गरिन्छ भने, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गरिन्छ ।

नवरात्रका अवसरमा बैतडीका प्रसिद्ध निङ्गलाशैनी, त्रिपुरासुन्दरी, मेलौली, डिलाशैनी, कफलाशैनी, फाल्ङासैनी लगायतका भगवती मन्दिरहरुमा बिशेष पूजाआजा हुने गरेको छ । 

यस्तै सिगास, केदार, शिवनाथ, जगन्नाथ, महारुद्र, अनिरुद्र, उदयदेव, वासुलिङ्ग लगायतका मन्दिरहरुमा पनि पूजाआजा गर्ने गरिएको छ । 

नवरात्रको समयमा शिव र शक्ति दुवैको पूजाआजा गर्ने चलन रही आएको स्थानीय संस्कृतिका जानकार आचार्य घनश्याम लेखकले बताए । 
 

प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  ०७:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update