Sagun Khabar
बैतडीमा बेपत्ता महरा मृत भेटिए 

बैतडी–बैतडीको पाटन नगरपालिका–८ राङ्गाजुजौनाका ६८ बर्षीय जयसिंह महरा मृत फेला परेका छन् । 

गएको बुधबारदेखि बेपत्ता रहेका महराको शव पाटन नगरपालिका–२ ठडकुडास्थित मसानी भीरमा आज दिउँसो साढे चार बजेतिर फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए । 

गाउँकै आफन्तसँग भैंसी खरीद गर्नका लागि घरबाट निस्किएका महरा बेपत्ता भएका थिए । उनी बेपत्ता भएपछि प्रहरी र गाउँले मिलेर खोजी गरिरहेका थिए । बेपत्ता महराको खोजी गर्दै जाँदा आज मृत भेटिएका प्रहरी निरीक्षक सिंहले बताए । 

भैंसी खरीद गरेर आफन्तहरु घर फर्किएपनि महरा भने ‘मामाघर जाने’ भन्दै बीच बाटोबाटै छुट्टिएका थिए । त्यसपछि उनी बेपत्ता भएका थिए । 

बेपत्ता महराको शव भेटिएपछि भैंसी किन्न गएका आफन्त र शनिबार साँझ शव भेटियो भनेर गलत सूचना दिने एक स्थानीयलाई समेत लिएर प्रहरीले सोधपुछ गरिरहेको छ । 

घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमपछि आफन्तलाई बुझाइने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 

निवर्तमान वडा सदस्य समेत रहेका महराको निधनले सिंगो गाउँ शोकमा डुबेको स्थानीय एवं जिल्ला समन्वय समितिका सदस्य प्रेमसिंह भाटले बताए । 

प्रकाशित मिति: आइतबार, जेठ ३१, २०८३  १७:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update