Sagun Khabar
बैतडीका वरदायनी शक्तिपीठ, जहाँ दशैंमा भक्तजनको घुइँचो हुन्छ 

बैतडी–बैतडीमा नवदुर्गा विभिन्न स्वरुप भएका भगवतीका मन्दिर रहेका छन् । यी मन्दिरहरुमा दशैंको समयमा पूजाआजासाथै जात्रा लाग्ने गर्दछ । दशैंको घटस्थापनकादेखि देवीका मन्दिरहरुमा दर्शन गर्ने घुइँचो बढेको हुन्छ । बैतडीमा सात बैनी भगवतीका मन्दिर रहेका विश्वास गरिएको छ । विभिन्न नामले परिचित देवीका मन्दिरहरुमा दशैंको समयमा भक्तजनको घुइँचो लाग्ने गरेको हो । 
निङ्गलाशैनी भगवती मन्दिर 

बैतडीका प्रसिद्ध शक्तिपीठ मध्येको निङ्गलाशैनी भगवती मन्दिर पनि एक हो । यो मन्दिर दशरथचन्द नगरपालिका २ देहीमाण्डौंमा रहेको छ । परापूर्वकालमा निगालोको झ्याङमा देवी प्रकट भएका कारण यिनको नाम निङ्गलाशैनी रहन गएको किम्वदन्ती छ । 

निङ्गलाशैनी भगवती मन्दिरमा महाष्टमीको अवसरमा राँगाको बलिसहित ठूलो जात्रा लाग्ने गर्दछ । निङ्गलाशैनी मन्दिरमा घटस्थापनादेखि पूजाआजा शुरु भई महाष्टमीको दिन ठूलो जात्रा लाग्ने गरेको मन्दिरका मूल पूजारी देवदत्त भट्टले बताए । निङ्गलाशैनी भगवतीको दर्शनका लागि नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थीहरु समेत आउने गरेका छन् । 

स्वास्थ्य सन्देश
Atrya hospital

सडक छेउमै मन्दिर भएका कारण निङ्गलाशैनी भगवतीको दर्शन गर्नेहरुलाई पुग्न सहज छ । निङ्गलाशैनीको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ । निङ्गलाशैनी भगवती मन्दिरमा चैत नवरात्रमा पनि जात्रा लाग्ने गर्दछ भने अनन्त चतुर्दशी र धान्य पूर्णिमाका दिन पनि जात्रा लाग्ने गर्दछ । 

त्रिपुरासुन्दरी भगवती मन्दिर 

बैतडीका प्रसिद्ध शक्तिपीठको मध्ये त्रिपुरासुन्दरी भगवतीलाई मुख्य देवीका रुपमा पूजाआजा गर्ने गरिएको छ । स्थानीय भाषामा रणशैनी नामले पुकारिने यो मन्दिरमा शरदीय नवरात्रमा दैनिक पूजाआजा हुने गरेको छ । दशरथचन्द नगरपालिका ८ त्रिपुरास्थित यो मन्दिर पनि सडक नजिकै रहेको छ । सदरमुकाम नजिकै रहेको हुनाले यो मन्दिरमा दर्शनका लागि टाढाका भक्तजनहरु समेत पुग्ने गर्दछन् । 

त्रिपुरासुन्दरी भगवतीको दर्शनका लागि सीमावर्ती भारतीय क्षेत्र झुलाघाट र पिथौरागढ लगायतका क्षेत्रबाट ठाउँबाट दर्शनार्थी दर्शनका लागि पुग्ने गरेका स्थानीय आनन्दमणी भट्टले बताए । शरदीय नवरात्रका साथै यो मन्दिरमा कार्तिक शुक्ल अष्टमीमा ठूलो मेला लाग्ने गर्दछ । 

नेपालका पर्यटकीय गन्तव्यको सूचीमा समेत रहेको यो मन्दिरको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ । 

मेलौली भगवती मन्दिर 

बैतडीको तल्लोसोराड क्षेत्र मेलौलीमा प्रसिद्ध मेलौली भगवती मन्दिर रहेको छ । अगाध श्रद्धास्थलको रुपमा रहेको मेलौली भगवती मन्दिरमा पनि शरदीय नवरात्रमा पूजाआजासहित जात्रा हुने गरेको छ । 

बैतडीको पाटनबाट झण्डै ४० किलोमिटर सडक पारगरेपछि मेलौली भगवती मन्दिरमा पुग्न सकिन्छ । यो मन्दिर कार्तिक शुक्ल पूर्णिमा दिन भने ठूलो मेला लाग्ने गर्दछ । मेलौलीको दर्शनका लागि नेपालका मात्रै नभएर भारतीय दर्शनार्थीहरु समेत आउने गरेका छन् । मेलौली भगवतीलाई बरदायनी माताको रुपमा पूजाआजा गर्ने चलन रही आएको छ । 

डिलाशैनी भगवती मन्दिर 

बैतडीको पुर्चौंडी क्षेत्रमा रहेको प्रमुख शक्तिपीठ मध्ये डिलाशैनी भगवती मन्दिर पर्दछ । पुर्चौंडी नगरपालिका ९ तल्लादेही र पुर्चौंडी नगरपालिका ८ मल्लादेहीमा डिलाशैनी भगवतीको मन्दिर रहेको छ । पुर्चौंडी नगरपालिकाको केन्द्र हाटबाट मल्लादेहीस्थित भगवती मन्दिरमा सहजै पुग्न सकिन्छ । 

यसका साथै डिलाशैनी गाउँपालिकाको वडा नं ७ धामीगाउँमा समेत डिलाशैनी भगवतीको मन्दिर रहेको छ । मल्लादेहीस्थित डिलाशैनी भगवती मन्दिरमा दशैंका दिन बलिसहित जात्रा हुने गरेको छ । डिलाशैनी भगवतीको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको मल्लादेहीस्थित भगवती मन्दिरका पूजारी हरिशचन्द्र भट्टले बताए । 

कफलाशैनी भगवती मन्दिर 

बैतडीको डिलाशैनी गाउँपालिका ५ मा रहेको कफलाशैनी भगवती मन्दिर पनि यो क्षेत्रको मुख्य शक्तिपीठ मध्येको एक हो । यो मन्दिरमा शरदीय नवरात्रका साथै कार्तिक शुक्ल अष्टमीमा पनि जात्रा हुने गर्दछ । 

गोकुलेश्वरबाट केही उकालो हिँडेपछि कफलाशैनी भगवती मन्दिरमा पुग्न सकिन्छ । कफलाशैनी भगवती मन्दिरको दर्शन गरेमा मनोकामाना पूर्ण हुने जनविश्वास रही आएको छ । 

फाल्ङाशैनी भगवती मन्दिर 

बैतडीको सुर्नया गाउँपालिका ५ स्थित फाल्ङाशैनी भगवती मन्दिरमा हरेक बर्ष दशैंको समयमा पूजाआजा र जात्रा हुने गरेको छ । यो भगवती मन्दिरमा कार्तिक शुक्ल पूर्णिमाका दिन ठूलो मेला लाग्ने गरेको मन्दिरका पूजारी विष्णुदत्त भट्टले बताए । 

खेत जोत्ने बेला भगवती पाइएकाले यिनको नाम फाल्ङशैनी रहन गएको किम्वदन्ती रहेको छ । फाल्ङशैनी भगवतीको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रहेको छ । फाल्ङाशैनी भगवती मन्दिरलाई स्थानीयहरुले भवानी मन्दिर समेत भन्ने गरेका छन् । 

फाल्ङासैनी भगवती मन्दिर सुर्नया गाउँपालिकाको केन्द्र नजिकै रहेको छ । सतबाँझबाट सडक पुगिसकेकाले सो मन्दिरमा सहजै पुग्न सकिन्छ । 

कालशैनी भगवती मन्दिर 

बैतडीको पाटन नगरपालिका वडा नं १ स्थित सकारमा कालशैनी भगवतीको मन्दिर रहेको छ । यो मन्दिरमा महाष्टमीको दिन बलिसहित जात्रा लाग्ने गर्दछ । 

पाटन बजार क्षेत्रबाट नजिकै रहेको यो मन्दिरको दर्शनका लागि दर्शनार्थीहरु पुग्ने गरेका छन् । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०८०  १२:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update