Sagun Khabar
बैतडीका सिगास र केदार, आस्थाका धरोहर 

बैतडी–शरदीय नवरात्र अन्तर्गत बैतडीमा शिव र शक्ति दुवैको पूजाआजा हुने गरेको छ । घटस्थापनाका दिनदेखि देवीका शक्तिपीठजस्तै शिवरुपी सिगास र केदारका मन्दिरहरुमा पनि पूजाआजा भइरहेको छ । नवरात्रको अवसरमा सिगास र केदारका मन्दिरहरुमा दर्शनार्थीको घुँइचो लाग्ने गर्दछ । 
सिगासधुरा धाम 

बैतडीका प्रसिद्ध धार्मिकस्थलमध्ये मुख्य धार्मिकस्थल सिगासधुरा धाम रहेको छ । बैतडी जिल्लाको सबैभन्दा अग्लोस्थानमा रहेको सिगासधुरा धाममा हजारौं दर्शनार्थीहरु दर्शनका लागि पुग्ने गरेका छन् । 

समुद्री सतहबाट २ हजार ९ सय मिटर उचाइमा रहेको सिगास धुरा जिल्लाको सबैभन्दा उच्च स्थानमा रहेको धार्मिक स्थल हो । सिगासको कुर्चेनेटा सम्म अहिले कच्ची सडक पुगेको छ । त्यहाँबाट पैदल हिँडेर सिगास धुरा पुग्न सकिन्छ ।
परापूर्वकालमा कैलाशबाट भगवान शिव सिगास धुरामा आएका जनविश्वास रही आएको छ । बोहरा थरका व्यक्तिले सिगास देवता पाएको किम्वदन्ती रहेको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले बताए ।

स्वास्थ्य सन्देश
Atrya hospital

सिगास धुरामा शरदीय नवरात्रका साथै श्रावणको महिनासमेत दर्शनार्थीहरु दर्शनका लागि पुग्ने गरेका छन् । 

यस्तै सिगासधुराकै अंशका रुपमा सुर्नया गाउँपालिका ६ कोखेतमा सिगास धाम रहेको छ । सिगासको पातलमा अवस्थित सिगास मन्दिरमा हरेक बर्ष विजयादशमीको राति जात्रा हुने गरेको छ । सिगास देवतालाई ‘अचल,अबोल’देवताको रुपमा पूजाआजा गर्ने गरिएको छ । 

रौलाकेदार 

बैतडीको सुर्नया गाउँपालिका ५ मा रहेको रौलाकेदार धाम हिन्दूहरुको धार्मिक आस्थाको धरोहर हो । यो मन्दिरमा पुग्नका लागि सुर्नया गाउँपालिकाको केन्द्रबाट उकालो चढ्नुपर्ने हुन्छ । 

यो मन्दिरमा शरदीय नवरात्रमा जात्रा नहुने भएपनि पूजापाठ हुने गरेको छ । रौलाकेदार धाममा कार्तिक शुक्ल अष्टमीका दिन पूजाआजासहित जात्रा हुने गरेको मन्दिरका पूजारी विष्णुदत्त भट्टले बताए । 

रौलाकेदारको उत्पत्ति बद्रीकेदारबाट भएकाले रौलाकेदारको महत्व बद्रीकेदार जत्तिकै रहेको रौलाकेदारका पूजारी  भट्टले बताए । रौलाकेदारको दर्शन गरेमा मनोकामना पूर्ण हुने भएकाले सबैको आस्थाको केन्द्र बन्न पुगेको उनले बताए । 

भगवान शिवका १२ ओटा ज्योर्तिलिङ्ग मध्ये रौलाकेदार पनि एक रहेको जानकारहरुले बताएका छन् । नेपालका प्रथम ऐतिहासिक जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यले पनि रौलाकेदार नै केदारनाथ ज्योर्तिलिङ्ग भएको बताएका छन् । रावलाद्री पर्वतमा रहेको हुनाले रौलाकेदार नाम रहन गएको किम्वदन्ती रहेको छ । रौलाकेदराको दर्शन गरेमा बद्रीकेदारको दर्शन गरेजत्तिकै फल प्राप्त हुने जनविश्वास रही आएको छ । 

ग्वाल्लेक केदार 

ग्वाल्लेक धामको नाम परिचित ग्वाल्लेक केदार यो क्षेत्रको मुख्य धार्मिक स्थल हो । देहीमाण्डौं बजारदेखि देहीमाण्डौं गिरेगडा सडकतर्फ गएर उकालो चढेपछि ग्वाल्लेक केदार पुग्न सकिन्छ । जंगलको बीचमा रहेको यो धामको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ । 

ग्वाल्लेक केदारकै अंशका रुपमा सुर्कालस्थित असिमीकेदारको पूजाआजा हुने गरेको स्थानीय जानकारहरुले बताएका छन् । यो धाममा शरदीय नवरात्रमा दर्शन गर्नेहरुको भीड लाग्ने गर्दछ । 

गोफा केदार अर्थात शिखर केदार 

बैतडीको सुर्नया गाउँपालिका ८ स्थित अग्लो डाँडोमा गोफाकेदारको मन्दिर रहेको छ । यसलाई शिखर केदारको नामले समेत पुकार गर्ने गरिएको गोफाकेदारको पूजारी विनोदप्रसाद अवस्थीले बताए । 

शिखर केदारमा हरेक बर्ष महाष्टमीका दिनमा पूजाआजा लाग्ने गरिएको छ । समुद्री सतहबाट २४ सय मिटरको उचाइमा रहेको यो केदारको मन्दिरमा कठमडा गाउँबाट डेढ घण्टा उकाले हिँडेपछि पुग्न सकिन्छ । 

शिखर केदारको दर्शनका लागि टाढाटाढाबाट भक्तजनहरु आउने गरेका छन् । शिखर केदारको दर्शन गरेमा बद्री केदारको दर्शन गरे जत्तिकै फल प्राप्त हुने जनविश्वास रही आएको छ । गोफामा केदारको बासस्थान रहेकाले यसलाई गोफा केदार भनिएको पूजारी अवस्थीले बताए । यो मन्दिर चैत्राष्टमीमा समेत जात्रा हुने गर्दछ ।  
 

प्रकाशित मिति: शनिबार, कात्तिक ४, २०८०  ०९:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update