Sagun Khabar
विपीन जोशीलाई छुटाउन कतारसँग नेपालको फेरि आग्रह

काठमाण्डौ – हमासले बन्धक बनाएका भनिएका विपीन जोशीलाई छुटाउनका लागि पहल गर्न नेपालले फेरि कतारसँग आग्रह गरेको छ । बैतडीको दोगडाकेदार गाउँपालिका– १ रीम मूल घर भइ कञ्चनपुरमा बस्दै आएका जोशी गएको असोज २० गतेदेखि हमासको नियन्त्रणमा रहेका बुझिएको छ । सुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एण्ड अर्न’कार्यक्रम अन्तर्गत जोशी भदौ अन्तिम साता इजरायल गएका थिए । उनीसंगै ४९ जना विद्यार्थीहरु इजरायल पुगेका थिए । ती मध्ये विद्रोही समूह हमासको आक्रमणमा परेर १० जनाको मृत्यु भएको थियो । 

हिजोदेखि शुरु भएको २१औँ दोहा फोरममा सहभागी हुन कतार पुगेका परराष्ट्रमन्त्री एनपी साउदले कतारका परराष्ट्र राज्यमन्त्री मोहम्मद बिन अब्दुलअजीज अल खुलाइफीसँगको भेटमा जोशीको रिहाइका लागि पहल गर्न आग्रह गरेका हुन् । 

स्वास्थ्य सन्देश
Atrya hospital

परराष्ट्रमन्त्री साउदले जोशीको छिटोभन्दा छिटो रिहाइका लागि पहल गरिदिन आग्रह गरेको र कतारी राज्यमन्त्री खुलाइफीले जोशीको रिहाइका लागि लगातार रुपमा लागिरहेको जवाफ दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

हमाससँग कतारसँगको सम्बन्ध राम्रो रहेकाले नेपालले जोशीको रिहाइका लागि पहल गरिदिन पटकपटक आग्रह गर्दै आएको छ । अघिल्लो हप्ता पनि परराष्ट्रमन्त्री साउदले कतारका राजदूत मिशाल मोहम्मद अल अन्सारीसँग भेट गरी जोशीको रिहाइका लागि सबै उपाय लगाउन आग्रह गरेका थिए । 

जवाफमा राजदूत अन्सारीले इजरायल र विद्रोही हमासबीच पुनः शुरु भएको युद्ध रोक्न कतार सरकारले पहल गरिरहेको र नेपाली विद्यार्थी जोशीसहितका अपहरणमा परेकाहरुको रिहाइका लागिसमेत प्रयास भइरहेको जवाफ दिएका थिए । 

कतार जानुअघि पनि परराष्ट्रमन्त्री साउदले जोशीको रिहाइका विषयमा इजरायल सरकारका बन्दी तथा बेपत्ता व्यक्तिहरुका विषयमा हेर्ने संयोजक गल हर्चसँग कुराकानी गरेका थिए । रिहाइका लागि सरकारले पटकपटक आग्रह गरे पनि जोशीको अवस्था अझै थाहा हुन सकेको छैन ।

इजरायल–हमासबीच यसअघि भएको अस्थायी युद्धविराममा केही बन्दी छाडिए पनि जोशीको रिहाइ भएन । सरकारले आश्वासन मात्रै दिएको भन्दै जोशीका परिवारजन चिन्तामा परेका छन् । लामो समयदेखि जोशीको अवस्था अज्ञात रहेकाले जोशी परिवार चिन्तामा परेको हो । 
 

प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  ०८:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update