Sagun Khabar
कर्णाली करिडोर समृद्धिको मेरुदण्ड : मन्त्री ज्वाला 

बाजुरा –भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वालाले कर्णाली करिडोर कर्णाली र सुदूरपश्चिम प्रदेशको आर्थिक विकास एवं समृद्धिको मेरुदण्ड भएको बताएका छन् । 

खुलालु सल्लीसल्ला सडक आयोजना कार्यालयको शुक्रवार उद्घाटन गर्दै मन्त्री ज्वालाले कर्णालीका हुम्ला, कालीकोट र मुगुलाई बाजुरासम्म छिटो जोड्ने गरी पुल निर्माणका लागि ठेक्का भइसकेको बताए । सडक आयोजनाले सडक र पुल निर्माण व्यवस्थित हुँदै गएको बताउँदै मन्त्री ज्वालाले ठेक्का लागेका पुल निर्माण कार्य तीव्रगतिमा अगाडि बढेको बताए ।

स्वास्थ्य सन्देश
Atrya hospital

उनले कर्णाली करिडोरलाई चीनको हिल्सासम्म जोड्ने कार्य प्राथमिकताका साथ अघि बढाउन निर्देशन दिए । सडक निर्माणमा सङ्घ, प्रदेश र स्थानीय तहले हातेमालो र सहकार्य गरेमा सहजरूपमा यातायात सञ्चालन हुने उनले बताए ।

दीर्घकालीनरूपमा नेपाल र भारत जमुनाहा सिमानादेखि चीन र नेपालको सिमाना हिल्सासम्म सडक जोड्ने गरी कर्णाली करिडोरको योजना अघि आएको मन्त्री ज्वालाले दाबी गरे । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रम्रणका बेला चीनको हिल्साबाट कर्णालीको प्रदेशको सिमीकोटसम्म चीन सरकारको अनुदानमा निर्माण गर्ने र सिमीकोटबाट सुर्खेतसम्म नेपाल सरकारले फास्टट्रयाक निर्माण गर्ने दीर्घकालीन कार्यक्रम रहेको उनले बताए । 

उक्त सडक निर्माणका लागि रु ५७ अर्ब बजेट विनियोजन गरिएको मन्त्री ज्वालाले जानकारी दिए ।
 

प्रकाशित मिति: शनिबार, पुस ७, २०८०  ०७:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update