Sagun Khabar
आज र भोलि देशका धेरै ठाउँमा पानी पर्ने

काठमाण्डौ – पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आज र भोलि देशका धेरै ठाउँमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पञ्चिमी न्यूनचापीय प्रणाली पश्चिमबाट पूर्वतर्फ सर्दै जाने क्रममा आज सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही ठाउँमा तथा बाग्मती प्रदेशको पहाडी भेगका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

यस्तै कोशी प्रदेशको पहाडी भेगका एक दुुई ठाउँमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । आज सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र बाग्मती प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँ तथा कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक वा दुई ठाउँमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

स्वास्थ्य सन्देश
Atrya hospital

यस्तै भोलि सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बाग्मती प्रदेशसहित कोशी प्रदेशका पहाडी भेगका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा र मधेश प्रदेशका थोरै ठाउँमा छिटफुटदेखि हल्का वर्षा हुने सम्भावना छ । उच्च पहाडी तथा हिमाली भेगका थोरै ठाउँमा हल्कादेखि मध्यम हिमपात हुने पनि महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पर्सि सोमवारदेखि क्रमिक रूपमा मौसममा सुधार हुने देखिन्छ ।

यसैबीच यस वर्षको हिउँदयाममा औसतको २१ प्रतिशत मात्रै वर्षा भएको छ । नेपालमा डिसेम्बर १ देखि फेब्रुअरी २९ तारिख अर्थात मङ्सिर १५ देखि फागुन १७ गतेसम्मको तीन महिनालाई हिउँदयाम मानिन्छ ।हिउँदयाममा औषतमा ६० दशमलव १ मिलिमिटर पानी पर्नुपर्नेमा यो वर्ष १२ दशमलव ५ मिलिमिटर मात्रै वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

गएको वर्ष बितेका ३० वर्षमै सुक्खा हिउँद भएकोमा यो वर्ष गएको वर्षको १२ दशमलव ९ मिलिमिटर भन्दा पनि कम वर्षा भएको हो ।

प्रकाशित मिति: शनिबार, फागुन १९, २०८०  ०८:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update