Sagun Khabar
होस्टेलमा १३ वर्षीया छात्राको शंकास्पद मृत्यु, विद्यालयका प्रिन्सिपलसहित तीन पक्राउ

विद्यालयको होस्टेलमा झुन्डिएको अवस्थामा छात्राको शव भेटिएपछि प्रहरीले प्रधानाध्यापकसहित तीनजनालाई पक्राउ गरेको छ । चितवनको रत्ननगर नगरपालिका– १० मा रहेको एकता शिशु निकेतन बोर्डिङ स्कुलको कक्षा आठमा अध्ययनरत १३ वर्षीया शालीन पोखरेल आफू बस्ने कोठामा झुन्डिएको अवस्थामा भेटिएकी हुन् । उनका परिवारले हत्या भएको दाबी गरेका छन् । प्रहरीले पोस्टमार्टमलगायत रिपोर्ट आएपछि मात्र हत्या वा आत्महत्या भन्न सकिने जनाएको छ । 

अनुसन्धानका लागि प्रहरीले विद्यालयका प्रधानाध्यापक रत्ननगर– १० का ६० वर्षीय बालहरि देवकोटा, सहायक प्रधानाध्यापक ४० वर्षीय किरणबहादुर अधिकारी र वार्डेन ४८ वर्षीय कमल शर्मा पौडेललाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

गत १२ फागुनमा होस्टेलको आफू बस्ने कोठाको फ्यानमा स्काउटको डोरीले झुन्डिएको अवस्थामा बालिका मृत भेटिएकी थिइन् । शालीनको मृत्युपछि उनका बुबासहित परिवारजनले उनीहरूविरुद्ध हत्याको आरोप लगाउँदै किटानी जाहेरी दिएका थिए । प्रहरीले किटानी जाहेरी दर्ता नगरेपछि मृतकका परिवारले शालीनको न्यायका लागि अभियान चलाएका छन् । गोरखा अजिरकोट गाउँपालिका– ५ स्थायी घर भएकी बालिका विद्यालयको छात्रावासमा बसेर अध्ययन गर्दै आएकी थिइन् । 

शालीनको बुबा दीपेन्द्र पोखरेल छोरीको आत्महत्या नभई बलात्कारपछि हत्या भएको दाबी गर्छन् । प्रहरीले निष्पक्ष अनुसन्धान नगरेको उनको आरोप छ । ‘कोठाको वातावरण र वस्तुस्थिति हेर्दा मेरी छोरीले झुन्डिएर आत्महत्या गरेको भन्ने कुरा अस्वाभाविक र अपत्यारिलो देखिन्छ,’ उनी भन्छन्, ‘हाम्रो जाहेरी चार दिनसम्म प्रहरीले लिन मानेको छैन । त्यसले पनि अनुसन्धानमा मिलेमतो हुन लागेको छ भन्ने देखाउँछ । हामीलाई न्याय चाहिएको छ ।’ 

शालीनको शव काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ । पोस्टमार्टमको रिपोर्ट अझै नआउनुले पनि आफूहरूलाई चलखेलको आशंका बढाएको मृतकका बुबाको भनाइ छ । 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी श्रीराम भण्डारी घटना अनुसन्धानकै क्रममा रहेकाले हत्या वा आत्महत्या के हो भन्न नसकिने बताउँछन् । मृतकका परिवारकै आग्रहअनुसार नै शव काठमाडौं लगेर पोस्टमार्टम हुन लागेको उनी बताउँछन् । ‘शवको पोस्टमार्टम रिपोर्ट आइसकेको छैन, हामीले सिसिटिभी फुटेजदेखि विभिन्न प्रमाणहरूको अध्ययन–अनुसन्धान गर्दै छौँ,’ डिएसपी भण्डारीले बताए । सुसाइट नोट पनि भेटिएको र त्यसउपर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

मृतक बालिकाका आमा र बुबाबीच दश वर्षअघि सम्बन्धविच्छेद भएको थियो । बालिकाको बुबा काठमाडौंमा तथा आमा वैदेशिक रोजगारीका लागि दुबईमा छिन् । आमाको संरक्षणमा रहने गरी अदालतले सम्बन्धविच्छेदको फैसला गरेका कारण उनी आमाको संरक्षणमा मामाघरमार्फत होस्टेलमा बस्दै आएकी थिइन् । मृतकका परिवारले गृह मन्त्रालयसमेत पुगेर निष्पक्ष अनुसन्धानको माग गरेका छन् । नयाँ प्रतिकिा   

प्रकाशित मिति: शनिबार, फागुन १९, २०८०  १४:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update