Sagun Khabar
रुडेसद्वारा सञ्चालित कार्यक्रमको अनुगमन 

बैतडी–बैतडीमा लामो समयदेखि काम गर्दै आएको संस्था रुडेसले सञ्चालन गरेका कार्यक्रमहरुको सरोकारवाला निकायहरुले अनुगमन गरेका छन् । जिल्लाको दशरथचन्द नगरपालिका र पाटन नगरपालिकामा सञ्चालित कार्यक्रमहरुको सोमबार अनुगमन गरिएको हो । 

अक्सफाम नेपालको सहयोगमा सञ्चालित ग्रीन परियोजना अन्तर्गत रुडेस बैतडीले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । रुडेसद्वारा सञ्चालित कार्यक्रमहरुको प्रभावकारिताका बिषयमा अनुगमन गरिएको पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावलले बताए । 

नगरपालिका क्षेत्रभित्र रुडेसले महिला सशक्तीकरण, कृषि प्रविधि हस्तान्तरण, आप्रवासीहरुको बीमा लगायतका कार्यक्रममा महत्वपूर्ण सहयोग गरेको उनले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

व्यवसायिक तरकारी खेतीमा लागेका किसानहरुलाई रुडेसले मल,बीउ, प्रविधि लगायतका क्षेत्रमा सहयोग पुर्याउँदै आएको पाटन नगरपालिकाका उपप्रमुख कमलसिंह बोहराले बताए । 

रुडेस बैतडीले ग्रीन परियोजनामार्फत महिला सशक्तीकरण केन्द्रहरु सञ्चालन गर्नुका साथै कृषिका क्षेत्रमा समेत सहयोग गर्दै आएको रुडेस बैतडीका कार्यक्रम संयोजक अशोक चन्दले बताए । 

रुडेसद्वारा सञ्चालित कार्यक्रमले आफूहरुलाई व्यवसायिक रुपमा कृषि खेती गर्न प्रेरित गरेको पाटन नगरपालिका ९ की सरीता भाटले बताइन् । आफूहरुले पहिला पनि तरकारी खेती गरिरहेको तर रुडेसले नयाँ प्रविधि सिकाएको उनले बताइन् । 

करीब दुई रोपनी जमीनमा आलु खेती गरिरहेकी भाटले रुडेसबाट आफूले प्लास्टिक मल्चिङ प्रविधिबाट आलुखेती गर्न सिकेको बताइन् । उनले भनिन् ‘हामीले रुडेसबाट धेरै कुरा सिकेका छौं । बीउ, मल र प्राविधिक सहयोग पाएका छौं । ग्रीन परियोजनाबाटै प्लास्टिक मल्चिङ प्रविधिबाट आलुखेती गर्न सिकेका छौं ।’

पाटन नगरपालिका वडा नं ९का अधिकांश किसानहरु व्यवसायिक तरकारी खेतीमा लागेका र उनीहरुलाई रुडेसले विभिन्न सहयोग गरेको पाटन नगरपालिका वडा नं ९ का वडा अध्यक्ष कालुसिंह भाटले जानकारी दिए । वडा नं ९ जिल्लाको आलु पकेट क्षेत्र रहेको बताउँदै उनले यसमा रुडेसको महत्वपूर्ण सहयोग रहेको बताए । उनले भने ‘आगामी दिनमा पनि यस्ता खालका कार्यक्रम सञ्चालन हुनु आवश्यक छ । यस्ता कार्यक्रमहरुले किसानहरुलाई कुनै न कुनै रुपमा फाइदा पुर्याएको हुन्छ ।’

यस्तै दशरथचन्द नगरपालिकाको वडा नं १ र २ मा सञ्चालित कार्यक्रमको समेत सोमबार नै अनुगमन गरिएको छ । अनुगमनमा सहभागी दशरथचन्द नगरपालिकाकी उपप्रमुख कौशिला चन्दले रुडेसले कृषि क्षेत्र विस्तारमा महत्वपूर्ण सहयोग गरेको बताइन् । 

प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  १८:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update