Sagun Khabar
पाटनका नगर स्वयंसेवक शिक्षकको पारिश्रमिक मासिक ५ हजारले वृद्धि गर्ने निर्णय, मंसिरदेखि लागू हुने 

बैतडी–बैतडीको पाटन नगरपालिकाभित्रका विभिन्न विद्यालयमा कार्यरत नगर स्वयंसेवक शिक्षकहरुको पारिश्रमिक मासिक पाँच हजार रुपैयाँका दरले बढाउने निर्णय भएको छ । 

शुक्रबार बसेको नगरकार्यपालिका बैठकले नगर स्वयंसेवक शिक्षकहरुको पारश्रमिक बढाउने निर्णय गरेको नगरपालिकाका सामाजिक विकास समिति संयोजक एवं वडा नं ८ का वडा अध्यक्ष हरिश बिष्टले जानकारी दिए । 

बढाएको पारिश्रमिक आगामी मंसिरदेखि लागू गर्ने निर्णय समेत भएको बिष्टले बताए । 

यसअघि पारिश्रमिक वृद्धिको माग गर्दै नगर स्वयंसेवक शिक्षकहरुले आन्दोलन गरेका थिए । शिक्षकहरु आन्दोलित भएपछि उनीहरुका माग सम्बोधन गर्ने सहमति भएको थियो । 

सोही सहमतिअनुसार पारिश्रमिक वृद्धि गर्ने निर्णय गरिएको बिष्टले जानकारी दिए । 

नगरपालिकाले नगर स्वयंसेवक शिक्षकहरुको पारश्रमिक वृद्धि गर्ने निर्णय गरेसँगै साविकको उच्च मावि तहमा कार्यरत शिक्षकहरुले मासिक ३२ हजार ५ सय रुपैयाँ पाउनेछन् । यस्तै माध्यमिक तहमा कार्यरत शिक्षकहरुले मासिक २६ हजार ५ सय रुपैयाँ, आधारभूत तहमा कार्यरत शिक्षकहरुले मासिक २५ हजार ५ सय रुपैयाँ र बालविकास केन्द्रका सहजकर्ताहरुले मासिक २४ हजार ५ रुपैयाँ पाउने बिष्टले बताए । 
 

प्रकाशित मिति: शनिबार, असोज १०, २०८३  १८:१४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update