Sagun Khabar
डिलाशैनी घटना : गम्भीर घाइते कर्मचारीलाई हेलिकोप्टरमार्फत नेपालगञ्ज लगियो 

बैतडी –बैतडीको डिलाशैनी गाउँपालिका वडा नं ७ का एक स्थानीयले कोदालो प्रहार गर्दा गम्भीर घाइते भएका डिलाशैनी गाउँपालिकाका दुईजना कर्मचारीलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत नेपालगञ्ज लगिएको छ । 
डिलाशैनी गाउँपालिका वडा नं ७ का अन्दाजी ६२ बर्षीय कृष्ण धामीले कोेदालोले  हिर्काउँदा गम्भीर घाइते भएका पालिकामा कार्यरत कर्मचारी सुबास कलौनी र कार्यालय सहयोगी देवराज भट्टलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत कोहलपुर मेडिकल कलेज नेपालगन्ज लगिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए । 

घटनास्थलमा खटिएका प्रहरी निरीक्षक केसीका अनुसार बिहीवार बिहान ७ बजेतिर धामीले  कोदालो प्रहार गरी आफ्नै श्रीमती ५६ बर्षीया पार्वती धामीको हत्या गरेका थिए । 

स्वास्थ्य सन्देश
Atrya hospital

कोदालोको बिँडले हिर्काएर श्रीमतीको हत्यापछि धामीकै घरमा डेरा गरेर बसेका पालिकाका कर्मचारीमाथि पनि उनले आक्रमण गरेका थिए । 

धामीको आक्रमणबाट दशरथचन्द नगरपालिका ९ घर भइ डिलाशैनी गाउँपालिकाको उद्यम विकास शाखा प्रमुखको रूपमा कार्यरत २९ बर्षीय सुबास कलौनी र गाउँपालिकामा  कार्यालय सहयोगीका रूपमा कार्यरत २६ वर्षीय देवराज भट्ट घाइते भएका छन् । 

घाइते मध्ये भट्टको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक केसीले बताए । घटनाको कारण भने अझै खुल्न सकेको छैन् । कोदालो प्रहार गर्ने कृष्ण धामीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताए । 
 

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  १६:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update