Sagun Khabar
डिलाशैनी घटना : श्रीमतीको हत्या गरेका धामीमाथि अनुसन्धान हुँदै

बैतडी–कोदालोले हिर्काएर आफ्नै श्रीमतीको हत्या गरेका बैतडीको डिलाशैनी गाउँपालिका– ७ धामीगाउँका ६३ बर्षीय कृष्ण धामीमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ । 

बिहीबार बिहान ७ बजेतिर कोदालोको बिँडले हिर्काएर धामीले आफ्नै श्रीमती ५६ बर्षीया पार्वती धामीको हत्या गरेका थिए । धामीकै घरमा डेरा गरेर बसेका डिलाशैनी गाउँपालिकाका कर्मचारी सुबास कलौनी र देवराज भट्टमाथि पनि धामीले आक्रमण गरेका थिए । कोदालोको बिँडले उनीहरुलाई आक्रमण गर्दा दुवै जना घाइते भएका छन् । 

स्वास्थ्य सन्देश
Atrya hospital

उद्यम विकास शाखा प्रमुखको रुपमा कार्यरत कलौनी र कार्यालय सहयोगी भट्ट दुवै जनाको अहिले नेपालगञ्जमा उपचार भइरहेको छ । भट्टको नेपालगञ्ज नर्सिङ होममा उपचार भइरहेको र उनको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए । 

घाइते कलौनीको कोहलपुर मेडिकल कलेज नेपालगञ्जमा उपचार भइरहेको छ । 

बिहीबार बिहान एक्कासी श्रीमतीको हत्या गरेर कर्मचारीलाई समेत घाइते बनाएका धामीलाई प्रहरीले बिहीबार नै नियन्त्रणमा लिएको थियो । प्रहरीको नियन्त्रणमा रहेका धामीमाथि प्रहरीले आफ्नो अनुसन्धान अघि बढाएको छ । 

जिल्ला अदालतबाट १० दिनको म्याद थपेर धामीमाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक केसीले बताए । घटनाको विभिन्न कोणबाट अनुसन्धान भइरहेको उनले बताए । घटनाको कारण अझै पनि खुल्न सकेको छैन् । 

श्रीमतीको हत्यापछि कर्मचारीमाथि समेत आक्रमणमा उत्रेका धामीले यस्तो घटना किन गराए भन्ने कुरा चासोको रुपमा हेरिएको छ । घटनाको सबै पक्षलाई केलाएर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक केसीले बताए । उनले भने ‘अहिले नै एकीन कारण भन्न सकिने अवस्था छैन् । हामीले घटनाको अनुसन्धान गरिरहेका छौं । विभिन्न पक्षहरुसंग बुझ्ने काम समेत भइरहेको छ ।’
 

प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  १५:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update