Sagun Khabar
डिलाशैनी घटना : के छ घाइते कर्मचारीको अवस्था ?

बैतडी–बैतडीको डिलाशैनी गाउँपालिका वडा नं ७ धामीगाउँका ६३ बर्षीय कृष्ण धामीको आक्रमणबाट घाइते भएका डिलाशैनी गाउँपालिकाका दुईजना कर्मचारीको उपचार भइरहेको छ । 

बिहीबार बिहान ७ बजेतिर कोदालोको बिँडले हिर्काएर आफ्नै ५६ बर्षीया श्रीमती पार्वती धामीको हत्या गरेका कृष्णले उनको घरमै डेरा गरेर बसेका दुईजना कर्मचारीहरुलाई समेत घाइते बनाएका थिए । 

स्वास्थ्य सन्देश
Atrya hospital

धामीको आक्रमणबाट डिलाशैनी गाउँपालिकाको उद्यम विकास शाखामा कार्यरत २९ बर्षीय सुबास कलौनी र कार्यालय सहयोगी २६ बर्षीय देवराज भट्ट घाइते भएका छन् । उनीहरु दुुवै जनाको नेपालगञ्जमा उपचार भइरहेको छ । बिहीबार नै दुवै जनालाई हेलिकोप्टरबाट नेपालगञ्ज लगिएको थियो । 

दशरथचन्द नगरपालिका ९ जोशीबुंगा घर भएका कलौनीको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अवस्था सुधारोन्मुख रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए । उनले भने ‘घाइते मध्ये सुवास कलौनीको अवस्था सुधारोन्मुख छ । अर्का घाइते देवराज भट्टको भने भेन्टिलेटरमा उपचार भइरहेको छ । उहाँको अवस्थामा क्रिटिकल छ ।’

घाइते कलौनीको अवस्था अहिले सुधार भइरहेको पारिवारिक श्रोतले पनि जनाएको छ । उनको स्वास्थ्य अवस्थामा सुधार आइरहेको कलौनीकी श्रीमती कविता कलौनीले बताइन् । 

डिलाशैनी ३ मङरोडा घर भएका देवराज भट्टको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ । नेपालगञ्ज नर्सिङ होमको भेन्टिलेटर कक्षमा भट्टको उपचार भइरहेको डिलाशैनी गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले जानकारी दिए । उनी अझै होसमा आउन नसकेका उनले बताए । उनले भने ‘घाइते दुवै जनाको नेपालगञ्जमा उपचार भइरहेको छ । घाइतेमध्ये भट्टजीको अवस्था गम्भीर रहेको छ । उहाँ अझै होसमा आउनु भएको छैन् । कलौनीजीको अवस्था सुधार भइरहेको छ । केही दिनभित्रै उहाँ डिस्चार्ज हुने जानकारी आएको छ ।’

धामीले कोदालोले हिर्काउँदा दुवै जना कर्मचारीको टाउकोमा चोट रहेको छ । भट्ट सुतिरहेकै अवस्थामा धामीले आक्रमण गर्दा उनी गम्भीर घाइते भएका हुन् । कलौनीलाई बाहिरबाट ढोका खोल्नु काम छ भनेर धामीले आक्रमण गरेका प्रवक्ता भट्टले बताए । 

श्रीमतीको हत्या गरी कर्मचारीहरुलाई समेत आक्रमण गरेर घाइते बनाएका धामी अहिले प्रहरीको नियन्त्रणमा छन् । उनीमाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक केसीले जानकारी दिए । घटनाको एकीन कारण भने अझै खुल्न सकेको छैन् ।  

प्रकाशित मिति: शनिबार, चैत १०, २०८०  १०:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update