Sagun Khabar
बैतडीमा आज पनि सवारी साधन सञ्चालनमा रोक 

बैतडी–बैतडीमा आज पनि सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । शुक्रबारदेखि निरन्तर वर्षा भइरहेकाले सम्भावित जोखिम न्यूनीकरणका लागि सवारी साधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ । 

शनिबार बिहानदेखि आज बिहानसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएकोमा वर्षा नरोकिएपछि सोमबार बिहान ७ बजेसम्मका लागि जिल्लाभर सवारी आवागमनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी मीना अर्यालले बताइन् । 

यस अवधिमा आकस्मिक र अत्यावश्यक अवस्था परेमा जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयसँग समन्वय गर्न आग्रह गरिएको छ । लगातारको वर्षा भइरहेकाले सुरक्षित भएर बस्न स्थानीय प्रशासनले आग्रह गरेको छ । अत्यावश्यक काम बाहेक घरमै सुरक्षित भएर बस्न आग्रह गरिएको हो । 

लगातारको वर्षाले बाढी, पहिरोजस्ता प्रकोपहरुले विपद् निम्त्याउन सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, असोज ११, २०८३  ०९:०९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update