Sagun Khabar
सुदूरपश्चिममा २ हजार बढी क्षयरोगका बिरामी 

बैतडी –सुदूरपश्चिममा २ हजार बढी क्षयरोगका बिरामी उपचारमा रहेका छन् । स्वास्थ्य निर्देशनालय दिपालयका अनुसार चालु आर्थिक बर्षको अहिलेसम्म प्रदेशभरी २ हजार ८८ क्षयरोगका बिरामीहरु फेला परेका छन् । 

सबैभन्दा बढी कैलालीमा ८ सय ९१ जना क्षयरोगका बिरामी भेटिएका छन् भने कञ्चनपुरमा ५ सय ४७ जना बिरामी भेटिएका छन् । 

स्वास्थ्य सन्देश
Atrya hospital

यस्तै बझाङमा १ सय ९ जना, बैतडीमा १ सय ७ जना, डोटीमा ९८ जना, अछाममा ९० जना, डडेल्धुरामा ८९ जना, बाजुरामा ८८ र दार्चुलामा ६९ जना क्षयरोगका बिरामी रहेका स्वास्थ्य निर्देशनालय दिपायलका क्षयकुष्ठ अधिकृत मनोज ओझाले जानकारी दिए । पत्ता लागेका सबै बिरामीहरु सम्बन्धित जिल्लाका स्वास्थ्य संस्थाहरुको निगरानीमा उपचारमा रहेका ओझाले बताए । 

यस्तै चालु आर्थिक बर्षको फागुनसम्म सुदूरपश्चिममा क्षयरोगका कारण ६९ जनाको मृत्यु भएको छ । सबैभन्दा बढी कैलालीमा ३० जनाको मृत्यु भएको छ भने कञ्चनपुरमा १५ जनाको मृत्यु भएको छ । यस्तै बैतडीमा ८ जना, डडेल्धुरामा ६ जना, डोटीमा ४ जना, अछाम र बाजुरामा २÷२ जना, दार्चुला र बझाङमा एक÷एक जनाको मृत्यु भएको निर्देशनालयको तथ्यांकमा उल्लेख गरिएको छ । 

समुदायमा भएका सबै क्षयरोगका बिरामीहरुलाई अझै उपचारमा ल्याउन नसकेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । चालु आर्थिक बर्षमा प्रदेशभरी ६ हजार ३१५ जना बिरामी पत्ता लगाउनुपर्ने लक्ष्य रहेको भएपनि अहिलेसम्म २ हजार ८८ जनामात्रै पत्ता लागेका छन् । समुदायमा रहेका क्षयरोगका सबै बिरामीहरुलाई उपचारमा ल्याउन नसकेको क्षयकुष्ठ अधिकृत ओझाले बताए । 

क्षयरोगको निशुल्क उपचार हुने भएपनि क्षयरोगका बिरामीहरुलाई उपचारमा ल्याउन समस्या भइरहेको ओझाले बताए । 

लगातार दुई हप्ताभन्दा बढी खोकी लाग्नु, शरीर कमजोर हुँदै जानु, खकारमा रगत देखापर्नु साँझपख हल्का ज्वरो आउनु लगायतका लक्षण देखिएमा क्षयरोग हुनसक्ने ओझाले बताए । यस्ता लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा गएर चेकजाँच गराउनुपर्नेमा क्षयकुष्ठ अधिकृत ओझाले जोड दिए । 
 

प्रकाशित मिति: आइतबार, चैत ११, २०८०  १०:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update