Sagun Khabar
हिंसा प्रभावितहरुका लागि साहरा बन्दै ‘सेफ हाउस’

बैतडी –बैतडीको पाटनमा सञ्चालित सुरक्षित महिला आवास गृह (सेफ) हाउस हिंसा प्रभावितहरुका लागि साहरा बनेको छ । २०७३ सालमा स्थापना भएको सेफ हाउसबाट हिंसा प्रभावितहरुले सेवा लिने गरेका छन् । 

विभिन्न किसिमका हिंसाबाट प्रभावितहरुका लागि सेफ हाउसले सेवा प्रदान गरिरहेको सेफ हाउसका मनोविमर्शकर्ता डम्मरी भट्टले बताइन् । चालु आर्थिक बर्षको साउनदेखि अहिलेसम्म सेफ हाउसमा १ सय २७ जनाले सेवा लिएका छन् । 

सेफ हाउसमा मानसिक हिंसा प्रभावित ८१ जना, शारीरिक हिंसाका २५ जना, श्रोतसाधनबाट वञ्चित गरिएका १० जना, जबरजस्तीकरणीका ५ जना, बहुविवाहका १ जना, जबरजस्तीकरणी उद्योग,बालविवाह, यौनहिंसा र बेचविखनमा परेका १÷१ जनाले सेवा लिएको भट्टले बताइन् । 

स्वास्थ्य सन्देश
Atrya hospital

सेफ हाउस सञ्चालनमा आएयता ६ सय बढी हिंसा प्रभावितहरुले सेवा लिइसकेका छन् । 

पछिल्लो समयमा सहस्त्रलिङ्ग सामुदायिक विकास संस्थाले सुरक्षित महिला आवास गृह सञ्चालनको जिम्मा पाएको छ । सामाजिक विकास कार्यालय,पाटन नगरपालिका, संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए), साथी संस्था लगायतले सेफ हाउस सञ्चालनमा सहयोग गरिरहेका छन् । 

पाटनस्थित सेफ हाउसमा जिल्लाभरीका हिंसा प्रभावितहरु आउने गरेको भएपनि अन्य पालिकाहरुले भने सेफ हाउस सञ्चालनका लागि खासै सहयोग गरेका छैनन् । 

अल्पकालिन सेवा केन्द्र सञ्चालन कार्यविधि अनुसार सामाजिक विकास कार्यालयले सहयोग गरिरहेको सामाजिक विकास कार्यालय बैतडीका प्रमुख शंकरदत्त जोशीले बताए । सामाजिक विकास कार्यालयले हरेक बर्ष अल्पकालिन सेवा केन्द्र सञ्चालनका लागि सहयोग गरिरहेको उनले बताए । 

पाटन नगरपालिकाले लामो समयदेखि सेफ हाउस सञ्चालनमा सहयोग गरिरहेको बताउँदै नगर उपप्रमुख कमलसिंह बोहराले अन्य पालिकाहरुले पनि सेफ हाउस सञ्चालनमा सहयोग पुर्याउनुपर्ने बताए । 

सुरक्षित महिला आवास गृहले हिंसा प्रभावितहरुलाई बसोबाससहितको सेवा दिइरहेको छ । आवश्यकता अनुसार उनीहरुलाई निशुल्क रुपमा कानुनी र अन्य मनोपरामर्श सेवा समेत दिइरहेको भट्टले बताइन् ।  
 

प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  ०९:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update