Sagun Khabar
बैतडीमा एसईई दिनेको संख्या हरेक बर्ष घट्दै 

बैतडी –बैतडीमा माध्यमिक शिक्षा परीक्षा (एसईई) दिनेको संख्या प्रत्येक बर्ष घट्दै गएको छ । २०७८ सालमा बैतडीबाट ५ हजार ५ सय जना परीक्षार्थीले एसईई दिएका थिए । गत बर्ष बैतडीमा ५ हजार ३ सय ५१ जना परीक्षार्थी एसईईमा सहभागी भएका थिए । 

जसमा २ हजार ६ सय ६२ छात्र र २ हजार ६ सय ८९ छात्रा रहेका थिए । 

स्वास्थ्य सन्देश
Atrya hospital

यो बर्षको एसईईमा बैतडीबाट बर्ष २ हजार ४ सय ५८ छात्र र २ हजार ६ सय ३० छात्रा गरेर ५ हजार ८७ परीक्षार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका सूचना अधिकारी पुष्करराज शर्माले बताए । 

पछिल्लो तीन बर्षको मात्रै तथ्यांक हेर्दा हरेक बर्ष एसईई दिने परीक्षार्थीको संख्या घट्दै गएको सूचना अधिकारी शर्माले बताए । पहाडी जिल्लाहरुबाट अनवरत रुपमा भइरहेको बसाइसराईका कारणले समेत यस्तो समस्या आएको हुन सक्ने उनले बताए । 

पछिल्लो समयमा ग्रामीण क्षेत्रमा सामुदायिक विद्यालयहरुमा विद्यार्थीहरुको संख्या घट्दै गएपछि एसईई दिनेहरुको संख्या पनि घट्दै गएको शिक्षक धिरबहादुर मडैले बताए । धेरै जसो बालबालिकाहरु शिक्षा ग्रहणका लागि तराईतिर जाने प्रवृति बढेकाले पहाडमा विद्यार्थीहरुको संख्या कम हुँदै गएको उनले बताए । 

सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारमा खासै पहल नहुँदा विद्यार्थी पलायन हुने क्रम बढ्दै गएको शिक्षा क्षेत्रका जानकारहरुले बताएका छन् । 
 

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  १३:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update