Sagun Khabar
बैतडीमा वडा अध्यक्षसहित चार जना पक्राउ, जबरजस्तीकरणमा संलग्न दिपक भने फरार 

बैतडी –बैतडीमा एक वडाअध्यक्षसहित कर्मचारी र शिक्षक गरी चार जना पक्राउ परेका छन् । 

जिल्लाको सिगास गाउँपालिका वडा नम्बर ३ का वडाअध्यक्षसहित कर्मचारी र शिक्षक पक्राउ परेका हुन् । सिगास गाउँपालिकाका प्रवक्ता समेत रहेका अमरसिंह धामीसहित शिक्षक र कर्मचारी पक्राउ परेका छन् । २०७७ साल जेठ २३ मा भएको जबरजस्तीकरणी घटनामा  मिलापत्र गरेको आरोप लागेका गाउँपालिकाका प्रवक्तासहित चार जना पक्राउ परेका हुन् । 

तीन जनालाई सोमबार पक्राउ गरिएको र एक जना आज (मंगलबार) पक्राउ परेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए । 

स्वास्थ्य सन्देश
Atrya hospital

सोमबार वडाअध्यक्ष धामी, गाउँपालिकाका कर्मचारी राजेन्द्रसिंह धामी र भुवन भास्कार माविका शिक्षक मनोजसिंह धामी पक्राउ परेका हुन् । यस्तै आज सिगास गाउँपालिका ३ का स्थानीय नरबहादुर धामीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक केसीले बताए । 

२०७७ जेठ २३ गते स्थानीय सिगास गाउँपालिका ३ का दिपकसिंह धामीले एक १८ वर्षीया किशोरीलाई जबरजस्तीकरणी गरेको आरोप लागेको थियो । घटना बाहिर आएपछि  वडाअध्यक्ष, शिक्षक र कर्मचारी लगायतले तमसुक बनाएर घटनाको मिलापत्र गरेका थिए ।

आरोपित दिपकले जबरजस्तीकरणीमा परेकी किशोरीलाई सुन दिने सहमतिसहितको तमसुक बनाएका थिए । २०७७ साल मंसिर ११ गते प्रहरीमा जबरजस्तीकरण मुद्दा दर्ता भएको थियो । उक्त घटनाका मुख्य आरोपी दिपक भने अझै फरार रहेका छन् । उनी भारतमा रहेको आशंका गरिएको छ । 

उक्त घटनामा मुख्य आरोपी बाहेकका ५ जनालाई प्रहरीले पक्राउ गरेको थियो । ती सबैलाई २०७८ माघ ५ मा जिल्ला अदालत बैतडीले सफाइ दिएको थियो । जिल्ला अदालतको फैसलापछि पीडित पक्षले उच्च अदालत दिपायलको कञ्चनपुर इजलासमा पुनरावेदन दर्ता गरेका थिए । 

उच्च अदालत दिपायलको कञ्चनपुर इजलासले २०८० असार ५ गते फैसला गर्दै ५ जनालाई जनही १० हजार रुपैँया र १ महिनाको कैद सजाय तोकेको थियो । सोही फैसला अनुसार चार जना पक्राउ परेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक केसीले बताए । 

उक्त मुद्दामा संलग्न गोपालसिंह धामीले कैद भुक्तान गरेर छुटिसकेका छन् । 

हिजो पक्राउ परेका तिनै जनालाई हिजै कारागार चलान गरिएको छ भने आज पक्राउ परेका नरबहादुर धामीलाई आज कारागार चलान गरिएको प्रहरी निरीक्षक केसीले बताए ।

पक्राउ परेका मध्ये वडा अध्यक्ष धामी र गाउँपालिकाका कर्मचारी राजेन्द्रसिंह धामी तीन÷तीन कारागारमा बस्नेछन् । यसअघि उनीहरु २७ दिन प्रहरी हिरासतमा बसीसकेकाले उनीहरु तीन÷तीन दिन कारागरमा कैद भुक्तान गर्नेछन् । 

यस्तै मनोजसिंह धामी र नरबहादुर धामीलाई भने ५÷५ दिन कारागारमा राखिने बताइएको छ । यसअघि उनीहरुलाई प्रहरीले २५÷२५ दिन हिरासतमा राखेर अनुसन्धान गरेको थियो । 
 

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  १६:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update