Sagun Khabar
भोलिदेखि एसईई : बैतडीमा तयारी पूरा 

बैतडी –भोलिदेखि सञ्चालन हुने यो बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को बैतडीमा तयारी पूरा भएको छ । जिल्लाका २५ ओटै केन्द्रमा आवश्यक सबै सामग्री पुगिसकेको शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका सूचना अधिकारी पुष्करराज शर्माले जानकारी दिए । 

बिहीबार बिहान ८ बजेदेखि परीक्षा सञ्चालन हुनेछ । बैतडीमा एसईईका लागि २५ ओटा केन्द्र निर्धारण गरिएका छन् । ती केन्द्रहरुमा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष र २० जना विद्यार्थी बराबर एकजना निरीक्षक खटाइएको सूचना अधिकारी शर्माले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

यस्तै परीक्षालाई मार्यादित, भयरहित, शान्त र स्वच्छ वातावरणमा सम्पन्न गर्न हरेक केन्द्रहरुमा सुरक्षाकर्मी परिचालन गरिएको बताइएको छ । यसका साथै माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा समन्वय समितिका पदाधिकारीहरुले परीक्षाको अनुगमन गर्ने बताइएको छ । 

बैतडीमा यो बर्ष २ हजार ४ सय ५८ छात्र र २ हजार ६ सय ३० छात्रा गरेर ५ हजार ८७ परीक्षार्थी एसईईमा सहभागी हुँदैछन् । साधारणतर्फ २ हजार २ सय ४ जना छात्र र २ हजार ४ सय छात्रा परीक्षामा सहभागी हुनेछन् भने ग्रेडवृद्धितर्फ ९४ छात्र र १ सय १६ छात्रा गरेर २ सय १० जना सहभागी हुने सूचना अधिकारी शर्माले बताए । 

यस्तै बैतडीमा प्राविधिकधारतर्फ १ सय ५९ छात्र र १ सय १४ छात्रा गरेर २ सय ७३ जना सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइ बैतडीले जनाएको छ । 

परीक्षाको आवश्यक सबै तयारी पूरा भएकाले निर्धक्क भएर परीक्षामा सहभागी हुन आग्रह गरिएको छ । यसका साथै परीक्षालाई मार्यादित, भयरहित र स्वच्छ वातावरण सम्पन्न गराउन सबै सरोकारवालाहरुलाई सहयोगका लागि शिक्षा विकास तथा समन्वय इकाइ बैतडीले आग्रह समेत गरेको छ । 

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  ०९:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update