Sagun Khabar
बैतडीमा जिल्लास्तरीय प्रतिभा पहिचान कार्यक्रम, तीन पालिकाका विद्यार्थीको सहभागिता 

बैतडी –बैतडीमा जिल्लास्तरीय प्रतिभा पहिचान कार्यक्रम सम्पन्न भएको छ । सामाजिक विकास कार्यालयको आयोजनामा बुधबार जिल्लास्तरीय प्रतिभा पहिचान कार्यक्रम सम्पन्न भएको हो । 

गणित ÷विज्ञान विधा, चित्रकला र साहित्य क्षेत्रमा प्रतिभा पहिचान गरिएको सामाजिक विकास कार्यालय बैतडीका प्रमुख शंकरदत्त जोशीले बताए । उक्त कार्यक्रममा दशरथचन्द नगरपालिका, सिगास गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका केही विद्यालयहरुको मात्रै सहभागिता रहेको थियो । 

९ देखि १३ बर्ष उमेर समूहका विद्यार्थीहरुको प्रतिभा खोजी गर्ने उद्देश्यसहित प्रतिभा पहिचान कार्यक्रमको आयोजना गरिएको हो । 

स्वास्थ्य सन्देश
Atrya hospital

गणित विधाको प्रतियोगितामा सिगासको अर्जुन माविका सुनिल बोहरा प्रथम भएका छन् भने विज्ञान विधामा दशरथचन्द नगरपालिका शाहीलेकस्थित वीरेन्द्र माविका रमेश ओझा प्रथम भएका छन् । 

यस्तै चित्रकला विधामा वीरेन्द्र माविकै भूमिका कनौजिया प्रथम भएकी छन् । साहित्यतर्फको विधामा सिगासको लेकलुपुण माविकी संगीता बोहराको टिम प्रथम भएको छ । 

यस्तै चित्रकला विधामा सिगासका सुनिल लुहार दोश्रो भएका छन् । 

प्रतियोगितामा प्रथम हुनेलाई रु पाँच हजार, द्वितीयलाई तीन हजार, तृतीयलाई दुई हजार र सान्त्वना स्थान प्राप्त गर्नेलाई एक हजारका दरले पुरस्कार वितरण गरिएको सामाजिक विकास कार्यालय बैतडीका प्रमुख जोशीले बताए । 

प्रतियोगितामा बैतडीका १० वटै स्थानीय तहका विद्यालयका ९ देखि १३ वर्षका विद्यार्थीलाई सहभागि गराउन पत्राचार गरिए पनि दशरथचन्द नगरपालिका, सिगास गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाले मात्र सहभागिता जनाएको उनले बताए । 

बालप्रतिभाको खोजी गर्न आयोजना गरिएको कार्यक्रममा सिगास गाउँपालिकाबाट गाडी रिजर्भ गरेर नौ जना विद्यार्थीलाई प्रतियोगितामा सहभागी गराएको गाउँपालिकाका शिक्षा अधिकृत रमेशप्रसाद भट्टले बताए । 

उनले दुर्गमको क्षेत्र भए पनि जिल्ला र प्रदेश स्तरीय कुनै पनि प्रतियोगता नछाडिएको जानकारी दिए  । सदरमुकाम आसपासकै स्थानीय तहले भने प्रतियोगितामा विद्यार्थीे सहभागी गराउन चासो नदेखाएको सामाजिक विकास कार्यालय जनाएको छ । 
 

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  १७:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update