Sagun Khabar
बैतडीमा एक करोड विद्युत महसुल उठाउन बाँकी, धमाधम लाइन काट्दै प्राधिकरण 

बैतडी–बैतडीमा नेपाल विद्युत प्राधिकरणले समयमै विद्युत महसुल नबुझाउने ग्राहकहरुको फेरि लाइन काट्न शुरु गरेको छ । चालु आर्थिक बर्षमा विद्युत महसुल बाफतको बक्यौता रकम असुल गर्ने उद्देश्यसहित समयमै महसुल नबुझाउने ग्राहकको लाइन काट्न थालिएको नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख जनार्दन पौडेलले बताए । 

बैतडीमा १ हजार रुपैयाँ भन्दा बढी महसुल भएका १ हजार १३ ग्राहकले समयमा विद्युत महसुल बुझाएका छैनन् । त्यसमध्ये १ सय २२ सरकारी कार्यालय र ८ सय ९२ अन्य ग्राहक रहेका वितरण केन्द्र प्रमुख पौडेलले बताए । सरकारी कार्यालयबाट १७ लाख ५१ हजार ९१९ रुपैयाँ महसुल असुल गर्न बाँकी रहेको छ भने अन्य ग्राहकबाट ६५ लाख ९९ हजार ३२२ रुपैयाँ महसुल बाफतको रकम असुल गर्न बाँकी रहेको छ । बैतडीमा १ हजार रुपैयाँ भन्दा बढी महसुल भएका ग्राहकहरुबाट ८३ लाख ५१ हजार २४२ रुपैयाँ असुल गर्न बाँकी रहेको वितरण केन्द्र प्रमुख पौडेलले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

जिल्लाभरी झण्डै १ करोड रुपैयाँ महसुल उठाउन बाँकी रहेको छ । एक हजार रुपैयाँ भन्दा मुनिका ग्राहकहरुले समेत समयमा विद्युत महसुल बुझाएका छैनन् । 

अहिले तीन महिनाभन्दा बढी भइसक्दा समेत विद्युत महसुल नबुझाएका ग्राहकहरुको लाइन काट्ने काम धमाधम भइरहेको छ । मंगलबार मात्रै एकैदिन २८ जना ग्राहकको लाइन काटिएको थियो । विद्युत महसुल तिरेपछि मात्रै लाइन काटिएका ग्राहकको लाइन जोडिने नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रले जनाएको छ । 

यसअघि गएको साउनदेखि महसुल असुल गर्ने अभियान अन्तर्गत नेपाल विद्युत प्राधिकरणले समयमा महसुल नबुझाउने ग्राहकहरुको लाइन काट्न शुरु गरेको थियो । 

साउनदेखि अहिलेसम्म ५ सय ५० ग्राहकको लाइन काटिएको र ती मध्ये ५७ सरकारी कार्यालय रहेका छन् । 

लाइन काटिएका मध्ये ३६ ओटा सरकारी कार्यालयहरुले महसुल बुझाएर लाइन फेरि जडान गरेका छन् भने १सय ८९ अन्य ग्राहकहरुले महसुल बुझाएर लाइन जडान गरेका छन् । उनीहरुबाट २७ लाख ४७ हजार ८२१ रुपैयाँ बक्यौता रकम असुल गरिएको नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रले जनाएको छ । 

मिटर रिडिङ भएको ६० दिनभित्र विद्युत महसुल नबुझाउने ग्राहकको लाइन काट्ने प्रावधान रही आएको वितरण केन्द्र प्रमुख पौडेलले बताए । समयमै विद्युत महसुल बुझाउन समेत उनले आग्रह गरेका छन् । बैतडीमा २३ हजार बढी विद्युतका ग्राहक रहेका छन् । 
 

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  ११:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update