Sagun Khabar
बैतडीमा भयावह बन्दै आत्महत्या, एक हप्तामा तीन किशोरीले देह त्याग गरिन् 

बैतडी–बैतडीमा आत्महत्या गर्नेको संख्या दिनानुदिन बढ्दै गएको छ । आत्महत्याका घटना भयावह रुपमा हुन थालेका छन् । जिल्लामा एक हप्तामा ३ जना किशोरीले देह त्याग गरेका छन् ।  

गएको शनिबार दोगडाकेदार गाउँपालिका २ कफलकोटकी १७ बर्षीया पशुपति महराले आत्महत्या गरेकी थिइन् । त्यसको ४ दिनमै गएको बुधबार पञ्चेश्वर गाउँपालिका १ सुन्तला टोल घर भएकी १३ बर्षीया अस्मिता सार्कीले आत्महत्या गरिन् । 

शुक्रबार मात्रै जिल्लाको पञ्चेश्वर गाउँपालिका २ की १४ बर्षीया कलावती लुहारले आत्महत्या गरेकी छन् । 

स्वास्थ्य सन्देश
Atrya hospital

पछिल्लो एक हप्तामामात्रै ३ जना किशोरीले झुण्डिएर आत्महत्या गरेको तथ्यांक बाहिर आएको छ । आत्महत्या गर्नेको संख्या दिनानुदिन बढ्दै गएको छ । आत्महत्या गर्नेमा किशोरावस्थाका मानिसहरु बढी देखिएका छन् । यो निकै चिन्ताको बिषय रहेको जगन्नाथ बहुमुखी क्याम्पसका प्रमुख डा. सुरेन्द्रकुमार बमले बताए । उनले भने ‘किशोरावस्थामै देहत्याग गर्नेको संख्या बढ्दै गएको छ । पछिल्लो तथ्यांक हेर्दा निकै कहालीलाग्दो अवस्था रहेको छ । यसमा अभिभावकहरु सचेत हुनु आवश्यक छ ।’

आत्महत्याका घटना न्यूनीकरणमा विद्यालय, अभिभावक, शिक्षक सबैले एकीकृत रुपमा लाग्नुपर्नेमा डा. बमको जोड छ । 

प्रहरीका अनुसार बैतडीमा हरेक बर्ष आत्महत्या गर्नेको संख्या बढ्दै गएको छ । यसमा किशोरावस्थामा मानिसहरु झन् बढीरहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए । 

आर्थिक बर्ष २०७८ ÷७९ मा २० पुरुष र १० महिला गरी झुण्डिएर आत्महत्या गर्नेको संख्या ३० रहेको थियो । सोही बर्ष बिष सेवन गरेर ६ जना पुरुषले आत्महत्या गरेको प्रहरीको तथ्यांक छ । 

गत आर्थिक बर्ष २०७९÷८० मा १० पुरुष ११ महिला गरी झुण्डिएर आत्महत्या गर्नेको संख्या २१ रहेको छ भने सोही बर्ष बिष सेवन गरेर २ पुरुष र ३ महिला गरेर ५ जनाले देहत्याग गरेको प्रहरीको तथ्यांक छ । 

चालु आर्थिक बर्षको अहिलेसम्म १३ पुरुष र १२ महिला गरी २५ जनाले झुण्डिएर आत्महत्या गरिसकेका छन् भने बिष सेवनबाट एक÷एक महिला र पुरुष गरी दुईजनाको ज्यान गइसकेको छ । 

आत्महत्या पछिल्लो समयमा जनस्वास्थ्यको समस्याको रुपमा अगाडि आएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । मानसिक स्वास्थ्यकै कारण मानिस आत्महत्या गर्नेसम्मको स्थितीमा पुग्ने गरेको उनले बताए । उनले भने ‘आत्महत्या रोकथामका लागि गाउँगाउँमा मानसिक स्वास्थ्य कार्यक्रम सञ्चालन गर्नु आवश्यक छ ।’

सामाजिक सञ्जालको बढ्दो दुरुपयोग, माया प्रेम, कुलत लगायतका कारणले आत्महत्या गर्नेको संख्या बढ्दै गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक केसीले बताए ।  
 

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  ०७:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update