Sagun Khabar
सार्वजनिक स्थलमा सूर्तीजन्य पदार्थ विक्रि गरे कारवाही हुने 

बैतडी –बैतडीमा सार्वजनिक स्थलमा सूर्तीजन्य पदार्थको विक्रिवितरण गरेको पाइएमा कानुनी कारवाही हुने भएको छ । स्वास्थ्य कार्यालयले सूर्तीजन्य पदार्थको जथाभावी विक्रिवितरणमा रोक लगाउन प्रहरीसंग समन्वय गरेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । 

जिल्ला प्रशासन कार्यालय,प्रहरी कार्यालय र स्वास्थ्य कार्यालयको सहभागितामा जिल्लाका मुख्य बजारहरुमा अनुगमन समेत शुरु गरिएको स्वास्थ्य प्रमुख भट्टले जानकारी दिए । सार्वजनिक स्थलमा कसैले धुम्रपान गरेमा, सूर्तीजन्य पदार्थको सेवन गरेमा तत्कालै एक सय रुपैयाँ जरीवाना गर्ने प्रावधान रही आएको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

यस्तै सूर्तीजन्य पदार्थको विक्रि वितरणका लागि छुट्टै प्रावधान रहेको छ । बालबालिका तथा गर्भवती महिलाहरुलाई सूर्तीजन्य पदार्थको विक्रि गर्न नहुने कानुनी व्यवस्था रहेको स्वास्थ्य प्रमुख भट्टले बताए । 

यस्तै बैतडीका धेरैजसो ठाउँमा किराना पसलहरुमा अन्य खाद्य पदार्थसंगै सूर्तीजन्य पदार्थहरु पनि राखेर विक्रि गर्ने गरेकाले त्यस्तो नगर्न सुझाव दिइएको छ । त्यसरी विक्रि गरेको पाइएमा कानुनी कारवाही हुने स्वास्थ्य प्रमुख भट्टले बताए । 

जिल्लाको पाटन बजार क्षेत्रमा शनिबार अनुगमन गरिएको थियो । अन्य ठाउँको तुलनामा पाटन बजारमा कानुन विपरीत सूर्तीजन्य पदार्थको विक्रि वितरण गर्ने कार्य नभएको पाइएको बताइएको छ । इलाका प्रहरी कार्यालय पाटनले समेत सार्वजनिक स्थलमा सूर्तीजन्य पदार्थका् सेवन र धुम्रपान गर्न रोक लगाएको छ । 

यस्तै व्यापारीहरुले समेत कानुनको परिधिभित्र रहेरै सूर्तीजन्य पदार्थको विक्रिवितरण गर्ने गरेको पाइएको स्वास्थ्य प्रमुख भट्टले बताए । 

जिल्लाका अन्य ठाउँहरुमा समेत सूर्तीजन्य पदार्थको विक्रि वितरण नियमन गर्नका लागि अनुगमन गरिने अनुगमन टोलीका संयोजक एवं जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शंकरबहादुर बोहराले बताए । 
 

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  ०९:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update