Sagun Khabar
यी हुन् क्षयरोगका बिरामी बढी भएका सुदूरपश्चिमका १० पालिका 

बैतडी –क्षयरोगको निशुल्क औषधि उपचार हुने भएपनि क्षयरोगका बिरामीहरुको अझै उपचारमा सहज पहुँच पुग्न सकेको छैन् । समुदायमा क्षयरोगका बिरामी धेरै भएपनि कम पत्ता लागेको क्षेत्रीय स्वास्थ्य निर्देशनालयका क्षयकुष्ठ अधिकृत मनोज ओझाले बताए । 

स्वास्थ्य निर्देशनालय दिपालयका अनुसार चालु आर्थिक बर्षको अहिलेसम्म प्रदेशभरी २ हजार ८८ क्षयरोगका बिरामीहरु फेला परेका छन् । ती मध्ये धेरैजसो बिरामी कैलाली र कञ्चनपुरमा रहेका क्षयकुष्ठ अधिकृत ओझाले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

क्षयरोगका बढी बिरामी कैलाली र कञ्चनपुरका पालिकाहरुमा रहेका छन् । कैलालीका ६ र कञ्चनपुरका ४ पालिकामा क्षयरोगका बिरामी बढी फेला परेका ओझाले बताए । 

सबैभन्दा बढी कैलालीको धनगढी उपमहानगरपालिकामा २ सय ४६ क्षयरोगका बिरामी फेला परेका छन् भने कञ्चनपुरको भीमदत्त नगरपालिकामा १ सय २३ बिरामी फेला परेका छन् । 

यस्तै कैलालीको टिकापुर नगरपालिकामा १ सय ६, जोशीपुर गाउँपालिकामा ९६, गोदावरी नगरपालिकामा ९५, लम्कीचुहा नगरपालिकामा ८९ र जानकी गाउँपालिकामा ६३ जना क्षयरोगका बिरामी रहेका छन् । 
यस्तै कञ्चनपुरको दोधराचाँदनी नगरपालिकामा ७७, पुनर्वास नगरपालिकामा ६८ र बेदकोट नगरपालिकामा ६४ जना क्षयरोगका बिरामी फेला परेका क्षयकुष्ठ अधिकृत ओझाले बताए । 

समुदायमा भएका सबै क्षयरोगका बिरामीहरुलाई अझै उपचारमा ल्याउन नसकेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । चालु आर्थिक बर्षमा प्रदेशभरी ६ हजार ३१५ जना बिरामी पत्ता लगाउनुपर्ने लक्ष्य रहेको भएपनि अहिलेसम्म २ हजार ८८ जनामात्रै पत्ता लागेका छन् । समुदायमा रहेका क्षयरोगका सबै बिरामीहरुलाई उपचारमा ल्याउन नसकेको क्षयकुष्ठ अधिकृत ओझाले बताए । 

क्षयरोगको निशुल्क उपचार हुने भएपनि क्षयरोगका बिरामीहरुलाई उपचारमा ल्याउन समस्या भइरहेको ओझाले बताए । 

लगातार दुई हप्ताभन्दा बढी खोकी लाग्नु, शरीर कमजोर हुँदै जानु, खकारमा रगत देखापर्नु साँझपख हल्का ज्वरो आउनु लगायतका लक्षण देखिएमा क्षयरोग हुनसक्ने ओझाले बताए । यस्ता लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा गएर चेकजाँच गराउनुपर्नेमा क्षयकुष्ठ अधिकृत ओझाले जोड दिए ।
 

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  ०९:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update