Sagun Khabar
डिलाशैनी घटना : श्रीमतीको हत्या गरेका धामीमाथि दोश्रो पटक म्याद थपेर अनुसन्धान हुँदै 

बैतडी–कोदालोले हिर्काएर आफ्नै श्रीमतीको हत्या गरेका बैतडीको डिलाशैनी गाउँपालिका– ७ धामीगाउँका ६३ बर्षीय कृष्ण धामीमाथि दोश्रो पटक म्याद थपेर अनुसन्धान भइरहेको छ । चैत ९ गते जिल्ला अदालतबाट १० दिनको म्याद थपेर प्रहरीले धामीमाथि अनुसन्धान शुरु गरेको थियो । आइतबार दोश्रो पटक जिल्ला अदालतबाट ८ दिनको म्याद थप गरेर उनीमाथि अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए । 

चैत ८ गते बिहान कोदालोले हिर्काएर धामीले आफ्नै श्रीमती ५६ बर्षीया पार्वती धामीको हत्या गरेका थिए । श्रीमतीको हत्या गरेका धामीले उनकै घरमा डेरा गरेर बसेका डिलाशैनी गाउँपालिकाका कर्मचारी सुबास कलौनी र देवराज भट्टमाथि आक्रमण गरेका थिए । 

स्वास्थ्य सन्देश
Atrya hospital

घाइते भएका दुवैजनाको नेपालगञ्जमा उपचार भइरहेको छ । कलौनीको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ भने भट्टको नेपालगञ्ज नर्सिङ होममा उपचार भइरहेको छ । घाइते मध्ये भट्टको अवस्था अझै पनि गम्भीर रहेको छ । 

चैत ८ गते बिहान एक्कासी श्रीमतीको हत्या गरेर कर्मचारीलाई समेत घाइते बनाएका धामीलाई प्रहरीले सोही दिन नियन्त्रणमा लिएको थियो । कर्तव्य ज्यान मुद्दामा धामीमाथि अनुसन्धान भइरहेको प्रहरी निरीक्षक केसीले बताए । घटनाको विभिन्न कोणबाट अनुसन्धान भइरहेको उनले बताए । घटनाको कारण अझै पनि खुल्न सकेको छैन् । 

श्रीमतीको हत्यापछि कर्मचारीमाथि समेत आक्रमणमा उत्रेका धामीले यस्तो घटना किन गराए भन्ने कुरा चासोको रुपमा हेरिएको छ । घटनाको सबै पक्षलाई केलाएर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक केसीले बताए । 
 

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  ०९:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update