Sagun Khabar
शैक्षिक सत्र अगावै बैतडीमा पहिलो पटक पाठ्यपुस्तक पुग्यो 

बैतडी–बैतडीमा शैक्षिक सत्र शुरु हुनुभन्दा अगाडि नै पाठ्यपुस्तक पुगेको छ । आगामी शैक्षिक सत्रका लागि जिल्लाका पुस्तक विक्रेताहरुसंग पाठ्यपुस्तक पुगेको शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका सूचना अधिकारी पुष्करराज शर्माले जानकारी दिए । 

पहिलो पटक शैक्षिक सत्र शुरु हुनुभन्दा अगाडि पाठ्यपुस्तक उपलब्ध भएको शाहीलेकस्थित जगन्नाथ पुस्तक भण्डारका सञ्चालक जनक भट्टले जानकारी दिए । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको धनगढीस्थित कार्यालयले पाठ्यपुस्तक उपलब्ध गराएको उनले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

बैतडीमा कक्षा १ देखि १० सम्म ६७ हजार ६४६ जना विद्यार्थी रहेकाले त्यति नै संख्यामा पाठ्यपुस्तकको सेट आवश्यक पर्ने सूचना अधिकारी शर्माले जानकारी दिए । बैतडीमा ५ सय ३९ ओटा सामुदायिक विद्यालय रहेका छन् । 
कक्षा १ देखि १० सम्मका सबै बिषयका पाठ्यपुस्तक विक्रेतासंग पुगिसकेका छन् । विक्रेताहरुबाट विद्यालयले पाठ्यपुस्तक खरीद गरेर लैजाने गरेका छन् । सम्बन्धित स्थानीय तहहरुले विद्यालयहरुको खातामा पाठ्यपुस्तक खरीदका लागि रकम निकासा गर्ने गरेको छ । कक्षा १ देखि १० सम्म सरकारले निशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने गरेको छ । 

शैक्षिक सत्र शुरु हुनुभन्दा अगाडि नै पाठ्यपुस्तक पुगेपछि पठनपाठनका लागि सहज हुने शंकर संस्कृत मावि मूलखटालीका प्रधानाध्यापक रामबहादुर बिष्टले बताए । पाठ्यपुस्तकको अभावमा पठनपाठन कार्य अब प्रभावित नहुने उनले बताए । 

वैशाख १ गतेदेखि शैक्षिक सत्र २०८१ शुरु हुँदैछ । वैशाख १५ गतेसम्म भर्ना अभियान सञ्चालन हुने शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका सूचना अधिकारी शर्माले बताए । भर्ना अभियानको पहिला हप्ता विद्यार्थीहरुले विद्यालयमै गएर भर्ना हुने कार्यक्रम रहेको छ । वैशाख ७ गतेदेखि छुटेका विद्यार्थीहरुलाई विद्यालयमा पहुँच पुर्याउन घरदैलो अभियान सञ्चालन हुने शर्माले जानकारी दिए । 
 

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  १४:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update