Sagun Khabar
बैतडी घर भएका गणितका विद्वान चन्द अस्ताए

बैतडी - बैतडी घर भएका गणितका विद्वान एवं त्रिभुवन विश्वविद्यालयका गणित विषयका सह प्राध्यापक डा कृष्णबहादुर चन्दको निधन भएको छ । हृदयाघातका कारण बुधबार चन्दको ५१ वर्षको उमेरमा  निधन भएको हो । महेन्द्रनगरको मन्त्र हस्पिटलमा चन्दको उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

उनी  त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस सिद्धनाथ बहुमखी क्याम्पस (महेन्द्रनगर) मा २०५६ सालदेखि सहप्राध्यापक थिए। गणित विषय प्राध्यापन क्षेत्रमा अमर पहिचान छाडेर चन्द बिलाएका छन्। उनले २०५४ सालतिर त्रिभुवन विश्वविद्यालयबाट गणित विषयमा स्वर्ण पदक प्राप्त गरेका थिए। भारतको पिथौरागढबाट आइएससी अध्ययन गरेका चन्दले त्रिभुवन विश्वविद्यालयको अमृत साइन्स क्याम्पसबाट बीएससी र एमएससी अध्ययन गरेका थिए।

स्वास्थ्य सन्देश
Atrya hospital

विद्वान् व्यक्तित्व चन्दको नाम गणित प्राध्यापनका क्षेत्रमा प्रख्यात् छ। सरल स्वभाव र प्रभावकारी अध्यापन शैलीका कारण उनी विद्यार्थीमाझ लोकप्रिय थिए। सम्भवतः सुदूरपश्चिम क्षेत्रबाट त्रिभुवन विद्यालयमा स्नातकोत्तर तहमा गणितमा स्वर्ण पदक ल्याउने उनी पहिला र एक्ला व्यक्ति हुन्।

वि.सं. २०२९ मा बैतडीको सुर्नया गाउँपालिका वडा नं  ५ नौघरमा जन्मिएका चन्द कञ्चनपुरको भीमदत्त नगरपालिका–६ ऐँठपुरमा बस्थे। उनका एक छोरा र दुई छोरी छन्। शैक्षिक धरोहर चन्दको निधनले गणित प्राध्यापन क्षेत्रमा अपुरणिय क्षति पुगेको सुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक महेन्द्र चन्दले बताए। 

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  १३:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update