Sagun Khabar
सुर्नयामा विद्यालय समायोजनका बिषयमा सर्वपक्षीय छलफल 

बैतडी—बैतडीको सुर्नया गाउँपालिकामा विद्यालय समायोजनका बिषयमा सर्वपक्षीय छलफल भएको छ । विद्यार्थी संख्या न्यून भएका,भौतिक दुरीको हिसाबले नजिकै रहेका विद्यालयहरुलाई समायोजन गर्ने बिषयमा छलफल भएको हो ।

बिहीबार सुर्नया गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर कुँवरको अध्यक्षतामा भएको छलफलमा जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्रसिंह धामी प्रमुख अतिथी रहेका थिए ।छलफल कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख दमनबहादुर कुँवर बिशिष्ट अतिथी रहेका थिए । यस्तै छलफल कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीको समेत उपस्थिती रहेको थियो । 

सर्वपक्षीय छलफलमा नेपाली कांग्रेसका उपसभापति बिरबहादुर बिष्टले सबै पक्षलाई केलाएर विद्यालय समायोजनाको काम अघि बढाउनुपर्ने बताए । उनले भने ‘विद्यालय समायोजनका लागि पालिकाले थालेको बहस सकारात्मक छ ।यसलाई सबै प्रक्रियामा लगेर टुंगोमा पुर्याउनुपर्छ ।’

स्वास्थ्य सन्देश
Atrya hospital

यस्तै एमालेका नेता नरेन्द्र बिष्टले विद्यालय समायोजन गर्दा स्थानीय आवश्यकता आधारमा गरिनुपर्ने बताए । उनले भने ‘विद्यालय समायोजनका नाममा स्थापना भएका विद्यालयहरुको इतिहास मेट्न नहुने कुरामा ध्यान दिनुपर्छ ।सबै पक्षसंग छलफल गरेर विद्यालय समायोजनको टुंगोमा पुर्याउनुपर्छ ।’

यस्तै राप्रपाका जिल्ला सचिव देवबहादुर चन्दले विद्यालय समायोजन गर्दा सूचकका आधारमा गरिनुपर्नेमा जोड दिए । उनले भने ‘विद्यालयहरुको स्थलगत अनुगमन गरेर निश्चित मापदण्डको आधारमा समायोजनको काम अघि बढाउनुपर्छ ।’

सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारका लागि विद्यालय समायोजन गर्दा सबै प्रक्रियाहरु पुरयाएर गर्नुपर्नेमा छलफलमा सहभागी शिक्षक संघसंगठनका प्रतिनिधिहरुले जोड दिएका छन् । 

शिक्षाको गुणस्तर सुधारका लागि विद्यालय समायोजन एक खुड्किलो मात्र भएकाले अन्य पक्षहरुमा पनि ध्यान दिनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

छलफल कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मञ्जु बोहराले नीति र विधिमा टेकेर विद्यालय समायोजनको काम अघि बढ्ने बताइन् । 

विद्यालय समायोजन गर्दा स्थानीय सरकारले सबै पक्षलाई केलाउनुपर्नेमा जिल्ला समन्वय समितिका उपप्रमुख दमनबहादुर कुँवरले जोड दिए । 

यस्तै छलफलमा जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्रसिंह धामीले सबै पक्षलाई केलाएर विद्यालय मर्ज गर्नुपर्नेमा जोड दिए । 

छलफल कार्यक्रममा सुर्नया गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर कुँवरले विद्यालय अनुगमन गर्दा विद्यार्थी संख्या न्यून देखिएका विद्यालयहरुको अवस्थाका बिषयमा जानकारी दिए ।उनले भने ‘शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि पालिकाले प्रयास गरिरहेको र यसका लागि सर्वपक्षीय छलफलको आयोजना गरिएको हो । यो छलफलले शिक्षा क्षेत्र सुधारका बिषयमा सहयोग हुने विश्वास छ ।’

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  १७:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update