Sagun Khabar
गण्डकीको मुख्यमन्त्रीमा एमालेका अधिकारी नियुक्त

काठमाण्डौ – गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेकपा (एमाले) का गण्डकी प्रदेश सभा संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ (२) अनुसार अधिकारीलाई आज मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । 

यसअघि आजै नेता अधिकारीले एमालेका २२, नेकपा (माओवादी केन्द्र) का सभामुखसहित आठ जना र एक जना स्वतन्त्र सांसद राजीव गुरुङ अर्थात दीपक मनाङेसहित ३१ जना प्रदेश सभा सदस्यको समर्थनमा मुख्यन्त्रीमा दाबी पेस गरेका थिए । ६० सदस्यीय प्रदेश सभामा मुख्यमन्त्री बन्न ३१ बहुमत सदस्यको समर्थन चाहिन्थ्यो ।

स्वास्थ्य सन्देश
Atrya hospital

नेपाली कांग्रेसले भने मुख्यमन्त्री नियुक्ति प्रक्रिया असंवैधानिक भएको भन्दै प्रदेश प्रमुख भट्टलाई ज्ञापन पत्र बुझाएको छ । राजीनामा नदिइकन सरकार गठनका लागि सभामुखको समर्थन रहेको देखाउनु गलत भएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले बताए  । एमाले, माओवादी, स्वतन्त्र सांसद राजीव गुरुङ अर्थात् दीपक मनाङे र सभामुखलाई समेत गणना गरिएकाले अधिकारीको दावी असंवैधानिक रहेको पत्रमा उल्लेख छ ।

यसअघि विश्वासको मत नपाउने अवस्था देखिएपछि कांग्रेसका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले चैत २१ गते राजीनामा दिएका थिए । २१ गते नै प्रदेश प्रमुख भट्टले सात दिनको समय दिएर बहुमतको सरकार दाबी पेस गर्न आह्वान गरेका थिए । 
 

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  १५:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update