काठमाण्डौ – कात्तिक शुक्ल प्रतिपदा अर्थात् यमपञ्चकको पाँचौँ दिन आज गोवद्र्धन, गोरु, बली र हलीको पूजा गरी मीठा परिकार खान दिएर मनाइँदैछ ।
आँगनमा लिपपोत गरी गाईको गोबरबाट पर्वत बनाई त्यसलाई गोवद्र्धन पर्वतका रूपमा पूजा गर्ने परम्परा छ । कात्तिक शुक्ल प्रतिपदाका दिन सूर्योदय भएका दिन गोवद्र्धन पूजा गर्नुपर्ने धार्मिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष सहप्रा. डा. पुरुषोत्तम भट्टराईले बताए ।
वर्षभर खेतबारी जोतेर कृषि कर्ममा सघाउने गोरुलाई पनि आज पूजा गरी मीठा परिकार खान दिने चलन छ । यसै गरी, हली तथा अन्य कृषि कर्ममा संलग्न किसानलाई पनि आज पूजा गरिन्छ । आजको दिनलाई हली तिहार पनि भनिन्छ । तिहारको चौथो दिन हिजो गाईको पूजा गरिएको छ ।
अस्ति लक्ष्मीपूजा तथा कुकुर तिहार र शनिबार काग तिहार परेको थियो । यमपञ्चकको अन्तिम दिन भोलि यमद्वितीया तथा भाइटीका परेको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार भाइटीकाका लागि भोलि बिहान ११ बजेर ७ मिनेटमा उत्तम साइत रहेको छ ।




