Sagun Khabar
श्रीमतीको हत्या गर्ने धामी पुर्पक्षका लागि कारागार चलान 

बैतडी –कोदालोले हिर्काएर आफ्नै श्रीमतीको हत्या गरेका बैतडीको डिलाशैनी गाउँपालिका– ७ धामीगाउँका ६३ बर्षीय कृष्णसिंह धामी पुर्पक्षका लागि कारागार चलान भएका छन् । 

कर्तव्य ज्यान मुद्दामा प्रहरीले अनुसन्धान सकाएर धामीलाई सरकारी वकिलको कार्यालयमार्फत अदालतमा पेश गरेको थियो । जिल्ला अदालतले उनलाई आज पुर्पक्षका लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिए । 

स्वास्थ्य सन्देश
Atrya hospital

गएको चैत ८ गते बिहान कोदालोले हिर्काएर धामीले आफ्नै श्रीमती ५६ बर्षीया पार्वती धामीको हत्या गरेका थिए । श्रीमतीको हत्या गरेका धामीले उनकै घरमा डेरा गरेर बसेका डिलाशैनी गाउँपालिकाका कर्मचारी सुबास कलौनी र देवराज भट्टमाथि पनि आक्रमण गरेका थिए । 

धामीको आक्रमणबाट घाइते भएका कलौनी कोहलपुर मेडिकल कलेजमा उपचारपछि डिस्चार्ज भइसकेका छन् भने भट्टको नेपालगञ्ज नर्सिङ होममा उपचार भइरहेको छ । उनको स्वास्थ्यमा केही सुधार भएको प्रहरी निरीक्षक जोशीले बताए । 
 

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  १५:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update