Sagun Khabar
महाकाली कोरिडोरको काम सुस्त किन? 

बैतडी- नेपाल–भारत र चीनसित नाका जोड्ने योजनासहित निर्माणाधीन महाकाली कोरिडोरको काम सुस्त भएको छ। बजेट अभावले महाकाली कोरिडोरको काम सुस्त भएको हो ।

कञ्चनपुरदेखि दार्चुलाको तिङ्करसम्म जोड्ने कोरिडोर अन्तर्गत साना र ठुला गरी २० खण्डमा ठेक्का लगाइ काम गरिएको थियो । महाकाली कोरिडोर दार्चुला तिङ्कर सडक योजना कार्यालयले बजेट अभावका कारण काम सकेरपनि रकम भुक्तानी गर्न नसकेको जनाएको छ। कार्यालयका प्रमुख लक्ष्मणदत्त जोशीले गत माघको अन्तिम सातादेखि बजेट अभावले काम प्रभावित भएको बताए।

चालु आर्थिक वर्षमा सरकारले विनियोजन गरेको २९ करोड ६५ लाख बजेट गत माघमै सकिएको प्रमुख जोशीले जानकारी दिए। माघ महिनायता निर्माण कम्पनीहरूले काम गरेबापतको १६ करोड रकम भुक्तानी बाँकी रहेको प्रमुख जोशीले बताए। उनले माथिबाट बजेट आउने सुनिश्चितता नभएको बताए ।

तीन सय १३ किलोमिटर लम्बाइ रहेको महाकाली कोरिडोर अन्तर्गत दार्चुलाको तुसारपानीदेखि तिङ्करसम्मको ७९ किलोमिटर खण्ड नेपाली सेनाले निर्माण गरिरहेको छ। त्यसै गरी दुई सय ४५ किलोमिटर कोरिडोरको ट्रयाक खुलिसकेको प्रमुख जोशीले जानकारी दिए । कोरिडोर योजनाअन्तर्गत डडेलधुरामा ५८ किलोमिटर, बैतडीमा एक सय ४४ र दार्चुलामा सेनाले निर्माण गरिरहेको बाहेक एक सय २१ किलोमिटर सडक पर्छ ।

२०६५÷६६ सालमा दार्चुला–तिङ्कर सडक योजनाबाट सुरु भएको कोरिडोरलाई त्रिदेशीय नाकाका रूपमा विकास गर्ने अवधारणासहित २०७७÷७८ सालमा कञ्चनपुरसम्म जोडिएको हो । नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य जङ्गबहादुर मल्लले कोरिडोरको काम बजेट अभावले प्रभावित हुनु दुखद भएको बताए । उनले पुलसँगै दोधारा चाँदनी सुख्खा बन्दरगाहको काम पनि तत्काल अघि बढ्नुपर्ने बताए । रासस

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १६:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update