Sagun Khabar
भोलिदेखि देशका धेरै ठाउँमा ठूलो पानी पर्ने, ३४ वटा जिल्लामा रेड अलर्ट जारी

 भोलिदेखि देशका धेरै ठाउँमा ठूलो पानी पर्ने भन्दै जल तथा मौसम विज्ञान विभागले खतराको सूचना अर्थात रेड अलर्टु जारी गरेको छ । मनसुनको न्यून चापीय रेखा भोलिदेखि नेपालतर्फ सर्ने र यसले धेरै ठाउँमा निकै ठूलो पानी पार्ने विभागले जनाएको छ । विभागले भोलि र पर्सिका लागि ३४ वटा जिल्लामा रेड अलर्ट जारी गरेको हो । विभागले कोशी प्रदेश,बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका कपिलवस्तु, रुपन्देही, पाल्पा, गुल्मी, नवलपरासी पश्चिम, दाङ, बाँके, बर्दिया, प्यूठान र अर्घाखाँची तथा सुदूरपश्चिमका बैतडी, डोटी, डडेल्धुरा, कञ्चनपुर र कैलालीमा पनि विभागले रेड अलर्ट जारी गरेको छ । यस्तै मुस्ताङ, डोल्पा, मुगु, हुम्ला, जुम्ला, बाजुरा र बझाङबाहेकका अरू सबै जिल्लामा विभागले मध्यम जोखिम हुने भन्दै चेतावनी जारी गरेको छ ।भोलि र पर्सि बाढी, पहिरो र डुबान हुन सक्ने भन्दै विभागले सतर्कता अपनाउन आग्रह पनि गरेको छ । रातिको समयमा धेरै पानी पर्ने भएकोले चनाखो रहन र जोखिमयुक्त ठाउँमा नबस्न विभागको आग्रह छ । यस्तै राजमार्ग र हवाई यातायात पनि प्रभावित हुन सक्ने भएकाले पूर्वतयारी अपनाउन विभागले सरोकारवाला निकायहरूलाई आग्रह गरेको छ । 

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  १५:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update